‘रक्तदान जीवनदान’- बृहत् कार्यक्रममा ५३ जनाले गरे रक्तदान

काठमाडौँ । भनिन्छ रक्तदान नै जीवनदान हो । रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । बन्दाबन्दीको यो अवस्थामा रगतको चरम अभाव भएको छ । उपत्यकाका अधिकांश ब्लड बैङ्कमा सबै समूहको रगत अभाव छ । यति बेला दुर्घटना तथा शल्यक्रिया, प्रसूति लगायतका आपत्कालीन उपचार चाहिने बिरामी रगत नपाएकै कारण जीवन र मरणको अवस्थामा अस्पतालको शय्यामा छटपटाइरहेका छन् ।

जुन १४ विश्व रक्तदाता दिवस पनि हो । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरूको कदर स्वरूप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

विश्व रक्तदाता दिवसको अवसरमा आज काठमाडौँमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृति फाण्डेशनको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा ५३ जनाले स्वतःस्फूर्त रूपमा रक्तदान गरेका छन् ।

गिरिजाप्रसाद कोइराला फाण्डेशन, युवा तथा खेलकुद समिति, शुभारम्भ युवा क्लब, साइन्टोलोजी भोलेन्टियर मिनिस्टरको सहयोगमा सम्पन्न उक्त वृहत् रक्तदान कार्यक्रममा लिस्नर्स क्लब नेपालका अध्यक्ष जनक चन्द, मिर्मिरे युवा समाजका अध्यक्ष दिनेश विक्रम शाह, विजय चोक युवा क्लबका अध्यक्ष सुधीर नेपाल, साइन्टोलोजी भोलेन्टियर मिनिस्टरका अध्यक्ष विनोद शर्मा लगायत सेवामा खटिएका प्रहरी, स्थानीय महिला तथा पुरुषको उपस्थिति थियो ।

रेडियो सिटी एफ.एम. ९८.८ सुनेर तथा सामाजिक सञ्जालबाट थाहा पाएर केही किलोमिटर टाढाका रक्तदाता समेत रक्तदानको लागि आएका कृति फाउन्डेसनका अध्यक्ष तथा वृहत् रक्तदान कार्यक्रमका संयोजक गुणराज प्याकुरेलले बताए ।

७० जना रक्तदाताले आफ्नो नाम दर्ता गराएकोमा केही रक्तदाताको उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य कारणले गर्दा रक्तदान गर्न सकेनन्, विगत लामो समय देखि विभिन्न सन्दर्भमा हुने रक्तदान कार्यक्रममा दुई सय पिन्ट रगत सङ्कलन हुने गरेकोमा वर्षातको कारण रक्तदान गर्न घरबाट निस्केका रक्तदाता समेत रक्तदान स्थलमा आउन सकेनन्, ।

लकडाउनको कारणले सार्वजनिक सवारी साधन नचलेको, जोरबिजोर सवारी सञ्चालनको कारणले टाढाका रक्तदाताहरू रक्तदान गर्न आउन नसकेको कारणले यस पटक सङ्ख्याका केही कमी भएको उनले बताए ।

काठमाडौँको मुलपानीदेखि रक्तदानको लागि भिमसेनगोला आइपुगेका लिस्नर्स क्लब नेपालका अध्यक्ष जनक चन्दले आजको दिन १० औँ पटक रक्तदान गर्न पाएकोमा खुसी व्यक्त गरे । रक्तदान गर्न पाउनु अवसर हो । स्वास्थ्य, उमेर आदि विभिन्न परिस्थितिले साथ दिए मात्र रक्तदान गर्न पाइने भन्दै विगतका वर्षहरूमा क्लबले विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएकोमा यस पटक बन्दाबन्दीको कारणले क्लबले यस्ता कार्यक्रम गर्न नसके पनि आफू भने रक्तदान गर्न आएको सन्दर्भसहित यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउने बताए ।

नवनारी मिडिया, रेडियो सिटी एफ.एम. ९८.८, रोजगार मञ्च डट.कमको सञ्चार सहकार्य रहेको उक्त वृहत् रक्तदान कार्यक्रममा महिला रक्तदाताहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *