कर्णाली प्रदेशः कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, एकैदिन थपिए ११० संक्रमित

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या एक हजार नाघेको छ । आज एकैदिन ११० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार नाघेको हो ।
त्यहाँको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार आज ११० जना संक्रमित थपिएसँगै कर्णाली प्रदेशमा हालसम्म एक हजार ७७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
आज थपिएका नयाँ संक्रमितहरु दैलेखका ९१ जना, सुर्खेतका १९ जना रहेका छन् । दैलेखको नौमुलेमा ८७ जना, दुल्लु नगरपालिकामा एक र नारायण नगरपालिकामा तीन जना संक्रमित पुष्टि भएको हो ।
त्यस्तै सुर्खेतको बराहताल गाउँपालिकामा ३, पञ्चपुरी नगरपालिकामा ८, चौकुने गाउँपालिकामा तीन, लेकबेशी नगरपालिकामा ४, सिम्ता गाउँपालिकामा एक गरी १९ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशमा हालसम्म काेराेना संक्रमणबाट ३ जनाकाे मृत्यु भइसकेकाे छ भने संक्रमितमध्ये १५१ जना उपचारपछि निकाे भएर घर फर्किसकेका छन् । बाँकीकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।










