‘सरकार ! आमाले भन्नुभाः बेसार छैन रे पिसिआर नै चाहिन्छ रे’

काठमाडाैं। शनिबार कोरोना रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै स्वतः स्फुर्त युवाहरुले राजधानीको माइतीघर मण्डलामा शान्तिपुर्ण प्रदर्शन भयो ।

तीन दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा हज्जारौं युवाहरुले सरकार विरोधी प्रदर्शन गर्दा लाठी र पानीको फोहरा हानेका सुरक्षाकर्मी आज शान्त रहे । साथै प्रदर्शनकारी युवाहरु पनि संयमित भएपछि माइतीघर मण्डलाको प्रदर्शन शान्तिपुर्ण भयो ।

आज प्रहरीहरु निक्कै संयमित देखिए । प्रदर्शनकारीहरुले पनि सुरक्षाकर्मीहरुलाई आज सामाजिक दुरी कायम गरेर शान्तिपूर्ण तवरले प्रदर्शन गर्ने बताएपछि प्रहरीबाट कुनै धरपकट भएन । प्रदर्शनकारीहरुले आफैं स्वयंसेवक राखेर सामाजिक दुरी कायम गरे भने, प्रदर्शनका क्रममा भएका खानेपानीका बोतलहरु आफैंले उठाएका थिए ।

राजधानीका विभिन्न क्षेत्रबाट स्वतः स्फुर्त भेला भएका युवाहरुले सरकारले कोरोना रोकथाम र उपचारमा प्रभावकारी काम गर्न नसकेको, जनताको स्वास्थ्य सुरक्षा प्रति संवेदनशील नभएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सरकारले आरडिटी परीक्षण रोकेर १०० प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने र कोरोना नियन्त्रणमा भएको दश अर्ब खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

बालुवाटारको प्रदर्शनले झस्किएको सरकारले सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म भएका खर्च विवरण सार्वजनिक गरिसकेको छ ।

आज माइतीघरमा ठूलै भेला हुने अपेक्षा गरीएको थियो । फेसवुकमा Covid 19 Nepal enough is enough ग्रुप पेज बनाएर युवाहरुलाई सरकारका गलत कृयाकलाप विरुद्ध आज विशेष प्रदर्शन गर्ने भनिएको थियो ।

हिजो साँझदेखि नै आज शनिबार संसदले नेपालको नयाँ नक्सा सहितको संविधान संसोधन विधेयक पारित गर्ने कार्यक्रम रहेकोले संसदलाई नै प्रभावित पार्नका लागि सरकार विरोधी प्रदर्शन गरीएको हल्ला फिँजाइएको थियो । तर, प्रदर्शनमा सहभागीहरुले आफुहरु कतैबाट परिचालित नभएको जनताको स्वास्थ्य सुरक्षामा सरकार संवेदनशील नभएपछि विरोधमा उत्रिएको बताएका छन् । ‘हामी कसैको उक्साहट र बोलावटमा आएका हैनौं, विश्व नै कोरोना संक्रमणसँग जुधिरहेको बेला नेपाल सरकारले जनताको स्वास्थ्य प्रति चासो नदिएपनि स्वतःस्फुर्त आएका हौं ।’ एक युवाले भने ।

बालुवाटारको प्रदर्शनमा कतिपय अराजक र अश्लिल शब्दहरु लेखिएका प्लेकार्डहरु प्रदर्शन भएको भन्दै आलोचना भएकामा आजको प्रदर्शनमा त्यस्ता अपाच्य शब्दहरु कमै देखिए ।

‘लकडाउनः सरकारको दशैं जनताको दशा, नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद, १०० प्रतिशत पिसिआर, जनता मरेको टुलुटुलु हेर्ने राष्ट्रवाद हुन सक्दैन, सरकार सरकार आमाले भन्नुभा बेसार होइन पिसिआर नै चाहिन्छ रे, कोरोनाको अचार अदुवा, लसुन, बेसारः डा. केपी शर्मा ओली, मेलम्ची मागेको तर पानीको फोहोरा पाएँ’ लेखेका प्लेकार्डहरु प्रदर्शन गरीएको थियो ।

७ विदेशी नागरिक पक्राउ

माइतीघरको प्रदर्शनमा विदेशी नागरिक समेत सहभागी भएको भन्दै प्रहरीले ७ जना विदेशी नागरिक सहित १० जनालाई पक्राउ गरेको छ । ती विदेशीहरुमा १ अमेरिकन, १ क्यानडियन, ३ चाइनिज, १ नर्वेजियन, १ अस्ट्रेलियन नागरिक रहेका छन् । बाँकी ३ जना नेपाली नागरिक रहेका छन् ।

नेपाली नागरिकलाई भने प्रहरीले केहि बेरमा छाड्ने बताएको छ । विदेशी नागरिकका हकमा भने नेपालको संविधानले विदेशमा गएर राजनीतिक गतिविधिमा सहभागी हुन बन्देज लगाएको छ ।
तस्विरः सागरबाबु भट्ट/मकालु खबर

      

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *