जो कोरोना जितेर काममा जुटिसकेका छन्

काठमाडौँ । कोरोना संक्रमणमुक्त भएका प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव निरीक्षक (सई) बिहीबार आफ्नो क्षेत्रको मोबाइल डयुटीमा थिए । बिहीबार बिहान १० बजेबाट सुरु भएको उनको डयुटी शुक्रबार बिहान १० बजेसम्म छ ।

कालिमाटी वृत्तको क्षेत्रमा हुने आपराधिक घटना होस् वा भीडभाड, उनको टिम सबैभन्दा पहिला पुग्न तयारी अवस्थामै हुन्छ । कोरोना पोजिटिभ देखिनुअघि जुन जिम्मेवारी पाएका थिए, आइतबारदेखि उनले त्यही जिम्मेवारी सम्हालिरहेका छन् ।

जेठ ५ गते डयुटी सकिएर घरमा सुत्न लागेका बेला उनलाई कोरोना देखिएको भन्दै कार्यालयबाट फोन आएपछि आत्तिए । कोठामा श्रीमतीलाई सम्झाएर मोटरसाइकलमै अफिस पुगे । अफिस आउँदा उनलाई आइसोलेसनमा लैजान एम्बुलेन्स तयार गरेर राखिएको थियो । उनी घरमा हुँदा जति आत्तिएका थिए, कार्यालय आउँदा साथीहरु र वृत्तका प्रमुख रुगम कुँवरले सम्झाए । चिन्तै चिन्तामा उनी र वृत्तकै प्रहरी जवान सशस्त्र प्रहरी अस्पताल बलम्बुको आइसोलेसन गए । ११ दिन आइसोलेसनमा बसे ।

दुई पटककै नतिजा नेगेटिभ आएपछि १५ गते डिस्चार्ज भए । डिस्चार्ज भएपछि नौ दिन कोठामा क्वारेन्टाइनमा बिताए । कोरोना पोजिटिभ भयो भनेर पहिलोपटक सुन्दा उनी जति आत्तिएका थिए अस्पतालमा बसेको एक सातापछि लगातार दुईपटक गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आउँदा र डिस्चार्ज हुँदाको क्षण उनको जीवनका सीमित खुसीमध्येमा पर्छ ।

उनलाई कोरोना पोजिटिभ देखिएपछि वृत्त र मातहतका सबै कार्यालय सिल गरिएको थियो । परीक्षणको रिपोर्ट के आउला भन्ने उनलाई जति चिन्ता थियो, ब्यारेकभित्रका २ सय २५ जनालाई पनि उत्तिकै थियो । आफ्नो रिपोर्ट जे आउँथ्यो, त्यो कार्यालयमा पनि जानकारी गराउँथे । कुनै पनि औषधि सेवन नगरी कोरोना जितेर आइसोलेसन वार्डबाट बाहिर निस्किँदा उनलाई अस्पतालका कर्मचारी र चिकित्सकले खादा लगाइदिए । त्यसपछि उनलाई युद्ध जितेकै अनुभूति भयो । ‘त्यो खुसी मेरो जीवनमा कमै थियो,’ २२ वर्ष प्रहरी सेवामा बिताएका उनले भने, ‘जब कोरोना जितेर फर्कें, मलाई झन् जोस र जाँगर बढेको छ ।’

यो सामान्य रोग भएकाले कसैलाई नआत्तिन उनको सुझाव छ । ‘अफिसबाट डिस्चार्ज भएको एक सातापछि काममा फर्कन भनिएको थियो,’ उनले भने, ‘म नियमित काममा फर्किसकें ।’ काममा फर्कंदा उनले कसैबाट विभेद भोग्नुपरेको छैन । ब्यारेकमा फर्कंदा अरू बेलाभन्दा बढी सम्मान पाएका छन् । कोरोना जितेपछि ब्यारेकमा सबै दंग छन् । ‘कोरोना देखियो रे भन्दा ब्यारेकका साथीहरु जति निराश भएका थिए, कार्यालय फर्किंदा त्यति नै खुसी भए,’ उनले भने, ‘जुन दिन हाजिर भएँ, त्यही दिनदेखि पहिला सम्हाल्दै आएको जिम्मेवारी सम्हालिरहेको छु ।’

कोरोनामुक्त भएपछि साथीसँग खुसी साटासाट गरे । कोरोना संक्रमित हुँदा होस् वा डिस्चार्ज भएपछि कार्यालय, छिमेकी कतैबाट पनि विभेद नगरिएको उनले सुनाए । ‘मैले कहींबाट पनि विभेदको अनुभव गर्नै पाएको छैन,’ उनले भने, ‘कोरोना लागेका बेलामा चाहिँ घरबेटी, वरिपरिका छिमेकी डराए । रिपोर्ट नेगेटिभ नआउदासम्म आफन्त पनि आत्तिए । मलाई पनि एक दिन, एक रातचाहिँ डर लाग्यो । त्यसपछि डर होइन, आत्मबल बढाएँ ।’

आफूलाई कोरोना लागेको भन्ने सम्झेर निरास हुनेभन्दा पनि आफूले विगतमा गरेको कामलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ । ‘समाजले के भन्छ ? आफन्तले के भन्छन् भन्नेतर्फ सोच्ने होइन,’ उनले भने, ‘कोरोना जितेपछि के को चिन्ता गर्ने ? आफू र परिवारलाई सचेत बनाएर पहिलाकै जस्तो काम गर्ने र समाजमा घुलमिल हुनुपर्छ ।’

उनलाई कोरोना देखिएपछि तीन घरको ४० जनाको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजिटिभ देखिँदैमा आत्तिनु नपर्ने उनले बताए । ‘मलाई कोरोना देखिए पनि एउटै मेसमा खाने, एउटै गाडीमा चढ्ने, एउटै रेडियो सेट चलाउने र एउटै ब्यारेकमा सुत्ने कसैलाई देखिएन,’ उनले भने, ‘कोरोना लाग्नेबित्तिकै अरूलाई सरिहाल्ने र मरिन्छ भन्ने भ्रम हटाए हुन्छ ।’

प्रहरी वृत्तका उनी र प्रहरी जवानलाई कोरोना देखिएपछि २ सय २५ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो । संक्रमित प्रहरी नै काममा फर्किएपछि प्रहरी कालिमाटी र मातहतको प्रभावमा समेत विगतको जस्तो त्रास छैन । बरु थप सावधानी भने अपनाइएको छ ।

०००

वृत्तका सई र जवानजस्तै नेकपाका नेता भीम रावलको सुरक्षामा खटिने सशस्त्र प्रहरीका जवान पनि कोरोनामुक्त भएपछि काममा फर्किसके । संक्रमित हुुनुअघिसम्म रावलकै सुरक्षामा खटिएका उनी अहिले ब्यारेकमै डयुटी गर्छन् । सोमबारदेखि घरनजिकै सशस्त्र प्रहरी बलको दुवाकोटस्थित गुहेश्वरी गणमा कार्यरत छन् । उनलाई कोरोना लक्षण देखिएर परीक्षण गरिएको थिएन ।

श्रीमती बिरामी भएपछि वैशाख २ देखि बिदा बसेका उनी २५ गते काममा फर्कन खोजे । रावलको सचिवालयले कोरोना परीक्षण गरेर मात्रै आउन भनेपछि टेकु पुगे । टेकुले उपत्यकाबाहिर नगएको र कोरोनाको कुनै लक्षण नभएको भन्दै पीसीआर नै गरिदिएन । सशस्त्रको आफ्नै अस्पताल बलम्बुमा उनले परीक्षण गराउँदा कोरोना पोजिटिभ देखियो ।

वैशाख ३० देखि जेठ ८ सम्म टेकु अस्पतालको आइसोलेसनमा बसे । कोरोना पोजिटिभ देखिएपछि उनलाई त अस्पतालको आसोलेसनमा लगिहाल्यो । तर, उनको बसाइ रहेको भक्तपुरको दुवाकोटमा भने विभेदको सीमा यतिसम्म भयो कि वरिपरिको दूध र तरकारी अन्य टोलमा बिक्नै छाड्यो । घरमा ९ जनाको पीसीआर भयो । सबैको रिपोर्ट नेगेटिभ आयो । उनको दुईपटक पीसीआर र एकपटक आरडीटी पनि नेगेटिभ आयो । उनी डिस्चार्ज भएर खुसी हुँदै घर पुगे ।

घरमा पनि परिवार र छिमेकीसँग १४ दिनसम्म घुलमिल भएनन् । घरकै छतमा क्वारेन्टाइनमा बसे । ‘श्रीमतीले खाना पकाएर मैले राखेको थालमा हाल्दिन्थिइन्,’ उनले भने, ‘तीन वर्षीय छोरा घरीघरी मलाई छुन आउँथ्यो । ऊबाट पनि जोगिएर १४ दिनको क्वारेन्टाइन सकेर काममा फर्केको छु ।’

आइसोलेसनमा रहँदा होस् वा क्वारेन्टाइनमा रहँदा आत्मबल दह्रो बनाउने र हौसला बढाउन गुहेश्वरी गणका एसपी विश्वप्रसाद भट्टराईले साथ पाएको उनले बताए । ‘कसैले आत्मबल बढाउने कुरा गर्दा पनि अत्यासलाग्दो रोगबाट राहत मिलेजस्तो हुँदो रहेछ,’ उनले भने, ‘डिस्चार्ज भएर घरमा आएपछि पनि एसपी सापले फोन गरिरहनुहुन्थ्यो । क्वारेन्टाइन सकेपछि उहाँले नियमित काममा फर्काउनुभयो ।’

उनी बिहीबार पनि बिहानको डयुटीमै थिए । उनी कोरोनामुक्त भए पनि आफैं सचेत हुँदै परिवारबाहेक अरूसँग अझै घुलमिल भएका छैनन् । ब्यारेकमा आफ्नो डयुटी सकाउँछन् अनि घर फर्कन्छन् । ‘मलाई कोरोना लागे पनि कतैबाट विभेद छैन, सबैको साथ पाएको छु,’ उनले भने, ‘आफैं सचेत भएर सकेसम्म ब्यारेकको हुलमुल र पीटीमा चाहिँ सहभागी हुन्नँ ।’

कोरानामुक्त भएर घर फर्केपछि छिमेकीको दूध र तरकारी बिक्री हुन थालेको उनले बताए । ‘मेरै कारणले छिमेकीको गाईको दूध बिक्री भएन, तरकारी कसैले किनेनन्,’ उनले भने, ‘अहिले त पहिलाकै जस्तो दूध र तरकारी बिक्री हुन थाल्यो ।’

कोरोनाको लक्षणसमेत नहुँदा आफूमा पोजिटिभ देखिएपछि उनी आत्तिएका थिए, अहिले अरूलाई नआत्तिन सुझाव दिन्छन् । ‘कोरोना हाम्रा लागि सामान्य रोग रहेछ । हामी गरिब देशमा दु:ख गरेर खाने मान्छे । रुघाखोकी जत्तिको पनि होइन,’ उनले भने, ‘त्यसैले आत्तिनुपर्ने र विभेद गर्नुपर्ने अवस्था हुँदैन ।’ अस्पतालमा रहँदा पनि उनीहरुको कुनै उपचार भएन । आइसोलेसनमा रहँदा बिहान दूध, अन्डा र बिस्कुट खान्थे । खानामा कुखुराको मासु, दाल भात नै खाए । दिउँसो फलफूल र जुस किनेर खाए । तातोपानी नियमितभन्दा बढी पिए । ‘कोरोना जितेपछि पनि फेरि केही हुने हो कि भनेर झोक्राउने भन्दा पनि पहिलाकै जस्तो काममा फर्कंदा थप उत्साह हुन्छ,’ उनले भने, ‘साथीहरुसँग घुलमिल भइन्छ । मलाई कोरोना लागेको थियो भन्ने नै भुलिन्छ ।’

कोराना संक्रमणमुक्त भएका सुरक्षाकर्मीजस्तै काठमाडौं महानगरपालिकाको फोहोर उठाउने गाडी चालक पनि काममा फर्किसकेका छन् । वृत्तका सई र उनलाई एकै दिन कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुसँगै एकै दिन भर्ना भएर सँगै बाहिरिएका हुन् । भक्तपुर भेलुखेलका उनी एक सातादेखि काममा फर्किएका हुन् । ‘पहिला म जुन गाडी चलाउँथें, अहिले त्यही चलाइरहेको छु,’ उनले भने । लकडाउनअघि बिहान ५ देखि बेलुका ५ बजेसम्म डयुटी हुने भए पनि अहिले दिउँसो १२ बजे नै घर फर्कन पाइने गरेको उनले बताए । त्रसित भनेका उनीसँगै काम गर्ने साथीहरु पनि उनी काममा फर्केपछि खुसी छन् । ‘कोरोना लागेपछि मरिन्छजस्तै गरे,’ उनले भने, ‘काममा फर्केपछि खुसियाली मनायौ । सबै जनासँगै बसेर चिया खायौं ।’ कोरोना नेगेटिभ भएपछि कसैबाट विभेद नभएको उनले सुनाए ।

०००

कोरोना जितेकी ललितपुर हरिहर भवनस्थित आरोग्य फाउन्डेसनमा कार्यरत युवती पनि दुई साताअघि नै काममा फर्किसकेकी छन् । किड्नीमा समस्या भएका बिरामीको उपचार गर्ने फाउन्डेसनको प्रशासनमा कार्यरत उनी नियमित कार्यालय जान्छिन् । ‘अफिसमा केही समस्या छैन, काममा फर्केको दुई साता भइसक्यो । कसैले विभेद गरेको अनुभव छैन,’ उनले भनिन्, ‘विभेद गर्नुपर्ने पनि कारण पनि देख्दिनँ । जसले विभेद गर्छन्, नबुझेर हो । कोहीले बुझेर बुझ पचाएका हुन् ।’

रिपोर्ट नै नेगेटिभ आएपछि डराउनै नपर्ने उनले बताइन् । ‘डर त हामीबाट होइन कि अरूबाट चाहिँ हामी डराउनुपर्ने हुन्छ, अरूलाई पोजिटिभ हुन सक्छ,’ उनले भनिन् । भक्तपुरमा कोठा भएकी उनी सुनसरीबाट आएपछि कार्यालय हाजिर हुनुअघि कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । अस्पतालबाट डिस्चार्ज भए पनि उनी कोठामा भने गएकी छैनन् । उनी दिदीको कोठामा बसिरहेकी छन् ।

कोरोना जितेर फर्कंदा समाजमा भेदभाव, छि:छि र दुरदुर भोग्ने पनि छन् । कोरोनामुक्त भएर डिस्चार्ज भएका काठमाडौंका एक पुरुषले टोलवासी र घरबेटीको समेत विभेद खेपिरहेका छन् । ‘पसलमा जाँदा हामीलाई सामान दिनै मान्दैनन्, हाम्रो पैसा लिनै चाहँदैनन्,’ उनले भने, ‘म र मेरो परिवारलाई छि:छि र दुरदुर गरिरहेका छन् । मलाई कोरोना छैन भन्ने रिपोर्ट आउँदा पनि विभेद छ । लकडाउन खुल्यो, म त अब कोठा सर्न खोजिरहेको छु ।’

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० परीक्षण गरिएकामा ४ हजार ६ सय १४ जनामा संक्रमण देखिएको छ । यीमध्ये निको हुनेको संख्या ८ सय ६१ पुगेको मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । निको हुनेमा ८ महिला र १ सय ७९ जना पुरुष छन् । संक्रमितमध्ये १८.६६ प्रतिशत निको भइसकेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले संक्रमणमुक्त भइसकेको व्यक्तिले आत्मबल बलियो बनाएर नियमित काममा फर्कन सुझाए । ‘सामान्यत: एकपटक संक्रमण देखिएर निको भएपछि फेरि अर्को व्यक्तिलाई सारेको प्रमाण छैन । कोरियामा भर्खरै भएको अध्ययनले पनि यही देखाएको छ,’ उनले भने, ‘संक्रमणमुक्त भइसकेका व्यक्ति अब डराउने होइन, मैले कोरोना जितिसकेँ । अब अघि बढ्छु भनेर लाग्नुस् अनि कोराना नलागेका व्यक्ति पनि मुक्त भइसकेको व्यक्तिसँग गराउनु पर्दैन ।’

दोहोर्‍याएर कोरोना देखिएको व्यक्तिले अरूलाई सार्न सक्ने क्षमता नै नहुने अध्ययनले देखाएको उनले बताए । ‘केही व्यक्तिलाई दोहोरिएर पनि देखिन्छ । उसले भाइरस सार्ने होइन पुरानो देखिएको मात्रै हो,’ उनले भने, ‘निको भएका व्यक्तिले समाजमा अर्को व्यक्तिलाई सार्दैन । यसमा विश्वस्त भए हुन्छ ।’ –ईकान्तिपुरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *