‘एमसीसीलाई संसदबाट जवरजस्ती पास गर्न हुँदैन’ डा. कोइराला

विराटनगर । अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई नेपाल सरकारले जबरजस्ती संसदबाट अनुमोदन गर्न नहुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले एमसीसीको पूर्ण समर्थन गरिरहेका बेला सोही पार्टीका प्रभावशाली नेता डा. कोइराला भने एमसीसीको विपक्षमा रहेका छन् । ‘एमसीसीलाई संसदबाट जवरजस्ती पास गर्न हुँदैन’ डा. कोइरालाले भने ।

आज कृष्णप्रसाद कोइराला गुठीले कांग्रेस नेतृ स्व. शैलजा आचार्यको ११ औं स्मृति दिवसमा विराटनगरमा आयोजना गरेको कार्यक्रममा बिहीबार बोल्दै डा. कोइरालाले एमसीसी संसदबाट पास गर्नुअघि त्यो सहयोग आईपीएससँग सम्बन्धित छ छैन स्पष्ट हुन आवश्यक रहेको प्रष्ट्याए ।

‘एमसीसी परियोजना पास गर्नु अघि त्यो आइपीएससँग सम्बन्धीत छ छैन प्रष्ट हुनुपर्छ । सहयोग भोलीका लागि सुखद र नेपाली जनताका पक्षमा छ भने मात्र स्विकार्नु पर्छ नत्र हुँदैन ।’ डा. कोइरालाले भने ।

डा. कोइरालाले आजको सहयोगले भोली मुलुकको राष्ट्रियता माथि नै प्रश्न चिन्ह उठ्छ भने एमसीसी स्विकार्न नहुने जिकिर गरे । ‘कुनै पनि संघ, संगठन, व्यक्ति, संस्था वा देशले बिना कारण कसैलाई सहयोग गर्न सक्दैन । त्यसमा उसको केही न केही स्वार्थ लुकेको हुन्छ । यदी त्यो स्वार्थ हाम्रो देशको राष्ट्रियता र स्वाधिनतासँग जोडिएको छ भने घातक हुन्छ ।’ डा. कोइरालाले भने । उनले ५५ अर्ब रुपैयाँको अनुदान त्यो स्वार्थमा छ कि छैन त्यसबारे सर्वप्रथम क्लियर भएर मात्र लिनु पर्नेमा जोड दिए ।

डा. कोइरालाले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा बोलेको जवाफ गैरजिम्मेवारपूर्ण भएको पनि बताएका छन् । सरकारले कोरोना उपचारमा १० अर्ब रुपैयाँ खर्च गरेको हिसाब–किताब यतिबेला खोज्ने हैन भनी संसदमा दिएको जवाफ लज्जास्पद रहेको कोइरालाले बताए ।

उनले कोरोना महामारीमा जे गर्दा पनि हुन्छ भन्ने सरकारको रवैयाले देश थप भ्रष्टाचारले थिलथिलो भएको दावि गरे । ‘सरकार अब यो दलदलबाट निस्कने अवस्था देख्दिन ।’

उनले सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्न नहुने पनि सुझाव दिए । वार्ता र सहमतिबाटै भारतसँगको सीमा विवाद टुंगाउनुपर्नेमा डा. कोइरालाको जोड छ । कार्यक्रममा स्वर्गिय नेतृ शैलजा आचार्यलाई सरकारको नेतृत्व गर्न नदिएर कांग्रेस विगतमा चुकेको बताए । ‘आचार्यलाई सरकारको नेतृत्व दिएको भए आज पार्टीमा यो अवस्थामा आउने थिएन होला ।’ आचार्य वीपी कोइरालाको अनुयायी रहेको बताउँदै डा. कोइरालाले शैलजा निडर, साहसिक भएको चर्चा गरे ।

कार्यक्रममा गुठीकी अध्यक्ष मीता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो, अग्रज पत्रकार अनन्तराज न्यौपाने, गैरसरकारी महासंघका अध्यक्ष प्रभा अधिकारीलगायतले स्वर्गिय आचार्यको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *