एन्फाबाट पैसा लिएको प्रमाणित गर्न खेलकुद मन्त्री विश्वकर्माको चुनौति (भिडियाे सहित)

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले एन्फाबाट आफुले एक रुपैंया पनि नलिएको बताएका छन् । आजको प्रतिनिधिसभामा विनियोजित विधेयक २०७७ मा बोल्दै मन्त्री विश्वकर्माले संसदमा एक सांसदले अखिल नेपाल फुटवल संघ (एन्फा) बाट मन्त्रीले पाएको अभिब्यक्ति दिएको प्रति आपत्ति प्रकट गर्दै उक्त विषय पुष्टि गर्न चुनौति दिए ।

‘पर्सा, विरगंजको नारायणी रंगशालाको कुरा गर्दा एन्फाले पनि १७ करोड  दिएको छ भनेर एक जना माननीयले भन्नु भयो, त्यो उहाँले कुन प्रसंगमा भन्नु भयो मलाई थाहा भएन, माननीयले भन्न खोजेको आशय के हो ? स्पष्ट गर्नुपर्यो ।’ उनले भने ।

मन्त्री विश्वकर्माले सांसदले लगाएको आरोप प्रमाणित गर्न चुनौति दिए । ‘माननीय ज्यूले जुन शब्दमा भन्नु भएको छ, त्यो त्यही हो भने मलाई दुःखी गराएको छ । एन्फाबाट र अरु कसैको बाट एक रुपैंया लिएको छैन । प्रमाणीत गर्न चुनौति दिन चाहन्छु ।’ उनले भने । मन्त्री विश्वकर्माले आफुले मुलकको खेलकुदको विकास, विस्तार र खेलाडी उत्पादनमा निष्टा र इमानका साथ दिनरात आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने संकल्प लिएको बताए । उनले सार्वजनिक जिम्मेवारी रहेकै आधारमा ब्यक्तिको निष्टा र छविलाई धमिल्याउन नपाउने बताउँदै आफुलाई एन्फाले मात्र हैन, खेल क्षेत्रका सबै अग्रज र खेलाडीहरुले माया गर्ने जिकिर गरे ।

उनले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालि सकेपछि खेल क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न सफलता प्राप्त गरेको बताए । साथै आफ्नै कार्यकालमा खेलकुद क्षेत्रमा रहेको विवाद र राजनीतिकरण कम गर्नपनि सफलता प्राप्त गरेको जनाए । ‘मुलपानी रंगशालाको जग्गा विवाद मिलाए, आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को विवाद हल गरेर प्रतिबन्ध फुकुवा गर्न सफल भएँ । विगतमा भएको राजनीतिकरण हटेको छ । खेल क्षेत्रमा पारदर्शिता, प्रतिष्पर्धा बढेको छ, अन्तराष्ट्रिय पदक जिल्न खेलाडीहरु सफल भएका छन् ।’ उनले भने ।

मन्त्री विश्वकर्माले कोरोना भाइरसको उपचार तथा रोकथाममा यस वर्षको बार्षिक बजेट खर्च गर्नुपर्ने परिस्थितिले खेलकुद क्षेत्रमा कम बजेट प्राप्त भएको बताउँदै अपेक्षा अनुसार काम गर्न नसक्ने तथा नयाँ आयोजनाहरु नरहेको बताए । ‘यो विषम परिस्थितिमा युवा तथा खेलकुद मन्त्रालयलाई अपेक्षा गरे अनुरुप बजेट प्राप्त भएको छैन । नयाँ योजना एउटा पनि छैन, भएका योजनाहरुलाई शिर्षक बचाउने हिसाबले मात्र विनियोजन गरीएको छ ।’ उनले भने ।

यो वर्ष ७ वटै प्रदेशहरुमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न, देशभर भएका रंगशाला र कभर्डहरुको मर्मत संभार गर्न मन्त्रालयलाई गाह्रो हुने बताउँदै चालु आयोजनाहरुलाई निरन्तरता दिने कार्यक्रम मात्र रहेको जनाए ।

‘प्रदेश १ को इटहरी रंगशालालाई प्रादेशिक रंगशाला बनाउने काम भइरहेको छ, प्रदेश २ को जनकपुरधाममा रामजानकी खेल मैदानलाई प्रादेशिक रंगशाला बनाउने निर्माण कार्य प्रारम्भ भएको छ । पर्सा विरगंजको नारायणी रंगशाला स्तरोन्नती कार्य प्राथमिकतामा राखिएको छ । बागमती प्रदेशको काठमाडौं, ललितपुरमा भएका संरचनाहरुलाई अन्तराष्ट्रिय स्तरको स्तरोन्नती गरी सकिएको छ ।’ सदनमा उनले भने ।

मन्त्री विश्वकर्माले गण्डकी प्रदेशको पोखरा रंगशालालाई प्रादेशिक रंगशालाका रुपमा स्तरोन्नती भइरहेको, प्रदेश ५ मा गएको वर्ष ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुँदा भैरहवा, वुटवल, दाङ, बाँके बर्दियामा खेलकुदका संरचनाहरु निर्माण भएकोले ती संरचनाहरु पुर्ननिर्माण गर्ने, स्तरोन्नती गर्ने तथा नेपालगञ्जको रंगशालालाई प्रादेशिक रंगशालामा स्तरोन्नती गरिएको जानकारी दिए । कर्णाली प्रदेशको सुर्खेतमा प्रादेशिक रंगशाला निर्माण गर्ने गरी प्रक्रिया अगाडी बढाइएको छ । सुदुरपश्चिम प्रदेशमा कैलाली धनगढी रंगशालालाई स्तरोन्नती गर्ने गरी हालैको वर्ष बजेट विनियोजन गरीएको छ ।

मन्त्रालयले मन्त्रिपरिषद् बाटै पारित गरेर एक स्थानीय तह एक खेलग्राम अन्तरगत ७५३ वटै तहमा खेल ग्राम निती अगाडी बढाएको छ । ५० लाखका दरले ७ वटै प्रदेशका ८४ पालिकाहरुमा बजेट विनियोजन गरीएको छ । कोरोना भाइरस संक्रमणले बजेट अभाव भएको बर्तमान अवस्थामा सबै प्रकारका खेलकुदका गतिविधिलाई कसरी अगाडी बढाउने चुनौति रहेको मन्त्री विश्वकर्माको तर्क छ । यो वर्ष मन्त्रालयसँग पुर्वाधार निर्माण गर्न करिब १८ करोड ९८ लाख मात्रै बजेट रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *