७२ संक्रमित एउटै स्कुलमा, जहाँ चिकित्सक र एम्बुलेन्स छैन

काठमाडौं । कपिलवस्तुको यशोधरा गाउँपालिका-५ का दुर्गेशकुमार धोबी स्टिलको भाँडामा तातो पानी बोकेर हतारिँदै घर छेउको अनिरुद्र पब्लिक मावि बैदौलीमा आइपुगे । स्कुलको मूल गेटबाट मुखमा कपडाको हरियो मास्क लगाएका उनका भिनाजु बाहिर निस्किए ।

गेट छेउमा भिनाजुले भाँडो थापे । त्यसमै उनले तातो पानी खन्याइदिए । एकैछिन गफ गरे अनि आफ्नो बाटो लागे । धोबीलाई हामीले स्कुल छेवैको चोकमा रोक्यौं । भारतको मुम्बईबाट एक महिनाअघि फर्किएका उनका भिनाजु कोरोना संक्रमित भएपछि यही स्कुलको आइसोलेसनमा राखिएका रहेछन् ।

जहाँ उनीसहित ७२ जना संक्रमितलाई राखिएको छ । संक्रमितलाई तागतदार खानेकुरा र तातो पानी चाहिन्छ भनेरै भिनाजुलाई दिनमा तीनपटक तातो पानी र दुईपटक उसिनेको अन्डा पुर्‍याउन आउने गरेको धोबीले बताए ।

यशोधरामा जिल्लामै सबैभन्दा धेरै १ सय ५१ संक्रमित छन् । भारतबाट फर्किएकाहरूलाई जसरी विद्यालयमा क्वारेन्टाइनमा राखिन्छ, त्यसैगरी उनीहरूलाई फरक-फरक तीन विद्यालयमा आइसोलेसनमा राखिएको छ । संक्रमितलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने र आइसोलेसन सेन्टरमा भेन्टिलेटर, स्वास्थ्यकर्मी, एम्बुलेन्स र अक्सिजनजस्ता अत्यावश्यकीय सुविधा हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

तर कपिलवस्तुका अधिकांश स्थानीय विद्यालयमा बनाइएका यस्ता सेन्टरमा यस्तो प्रबन्ध देखिँदैन । खाना र खाजाको प्रबन्ध स्थानीय तहले मिलाएका छन् । संक्रमितका आफन्तले तातो पानी, अन्डा, फलफूलजस्ता खानेकुरा आइसोलेसन सेन्टरमै पुर्‍याउने अभ्यासले समुदायस्तरमा संक्रमण फैलिने जोखिम बढाएको छ ।

यशोधरा-७ का अब्दुल आलम आइसोलेसनमा राखिएका भाइलाई खानेकुरा पुर्‍याउन आएका थिए । विद्यालय छेवैको रूखमुनि बसेर उनी गम्छाले पसिना पुछिरहेका थिए, कान्तिपुरमा समाचार छ । दिनमा दुईपटक तातो पानी लिएर भाइलाई भेट्न आउने गरेको सुनाउँदै उनले गर्मीमा स्कुलको आइसोलेसनमा बस्दा भाइलाई गाह्रो भएको जानकारी दिए । मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका उनका भाइलाई संक्रमित भएपछि आइसोलेसनमा राखिएको हो ।

संक्रमित राख्न यशोधराका विद्यालयमा बनाइएका केही आइसोलेसन सेन्टर पुग्दा तिनको अवस्था क्वारेन्टाइनको भन्दा फरक देखिएन । अनिरुद्र पब्लिक माविको आइसोलेसनमा झ्यालबाट बाहिर चियाइरहेका एक संक्रमितसँग हामीले पर्खाल बाहिरबाटै कुरा गर्‍यौं । ती संक्रमितले बताएअनुसार ७२ जनाका लागि चारवटा मात्रै शौचालय छ, तातो पानीको व्यवस्था छैन । ‘गर्मीले उधुम सताउँछ । लामखुट्टेको टोकाइ उस्तै छ । स्कुलमा बस्नुभन्दा बरु घरमै पठाइदिए हुन्थ्यो,’ उनले भने ।

आइसोलेसन सेन्टरको व्यवस्थापनमा खटिएकाहरू पनि सुरक्षित देखिएनन् । अनिरुद्र पब्लिक माविस्थित आइसोलेसन सेन्टरको सुरक्षामा खटिएका तीन प्रहरी जवान र एक हवल्दारमध्ये तीन जना आइसोलेसन बाहिर घुमिरहेका थिए । तीमध्ये दुईले मास्कसमेत लगाएका थिएनन् । कसैको हातमा सामान्य पन्जासमेत थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *