आज राति लाग्ने भिन्न खाले पेनम्ब्रल चन्द्रग्रहण के हो ?

काठमाडौं । आज शुक्रबार राति भिन्न खाले ‘चन्द्रग्रहण’ लाग्दैछ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राती साँढे ११ बजेदेखि पौने ३ बजेसम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ ।

सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२० को दोस्रो पेनम्ब्रल साँढे ११ बजेदेखि सुरू भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने २ बजेर ४९ मिनेटमा समाप्त हुनेछ ।

सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले यो चन्द्रग्रहण खग्रास वा खण्डग्रासभन्दा भिन्न खालको चन्द्रग्रहण भएको बताए । यो चन्द्रग्रहण सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा लाग्ने बताइएको छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यसमा बिरल छाँया पर्ने हुनाले यसलाई पेनम्ब्रल भनिएको भट्टराईले बताए ।

यो चन्द्रग्रहण हाम्रो आँखाले देख्न मुस्किल छ । यसलाई नेपाली पात्रोमा पनि समावेश गरिएको पाईदैन । तर, वैज्ञानिकहरूका लागि यो ग्रहण अध्ययनको विषय भने हो । बैज्ञानिकहरुले आजको चन्द्रग्रहणलाई महत्वपूर्ण मानेका छन् । २०७६ पुष २५ गते शुक्रबार राति पनि यस्तो खालको चन्द्रग्रहण देखिएको सोसाइटीका अध्यक्ष भट्टराईले बताएका छन् ।

फाईल तस्बिर: गत पुष महिनामा नेपालबाट देखिएको पेनम्ब्रल चन्द्रग्रहणको दृश्य , मनिषा द्वा

के हो पेनम्ब्रल चन्द्रग्रहण ?

सुर्य र चन्द्रमाको बिचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यस्तो छायाँ दुइ प्रकारका हुन्छन्: सघन तथा बिरल: यति चन्द्रमा पृथ्वीको विरल छायाँमा परेमा पेनम्ब्रल चन्द्रग्रहण लाग्छ। यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाईदैन। यस ग्रहणको बेला तस्बिर खिची केहि वैज्ञानिक परिक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यस्तो ठुलो महत्व छ।

सन् २०२० मा लाग्ने ६ वटा ग्रहणमध्ये २ वटा सुर्यग्रहण तथा ४ वटा चन्द्रग्रहण छन्। नेपालबाट भने १ सुर्य तथा ३ चन्द्रग्रहण गरी चार ग्रहण देख्न सकिनेछ। ग्रहणको प्रकृति एउटा विश्वव्यापी हुन्छ भने अर्को स्थानीय हुन्छ। जस्तै सन् २०२० को पहिलो सुर्यग्रहणको विश्वब्यापी प्रकृति वलय सुर्यग्रहण भएता पनि नेपालबाट भने खण्डग्रास मात्र देखियो। सुर्यग्रहण सम्बन्धमा: सन् २०२० को पहिलो सुर्यग्रहण जुन २१ तदनुसार वि. सं. २०७७ असार ७ गते आईतबारका दिन लागेको थियो। अफ्रिकाबाट सुरु भई एशियामा आएर सकिएको वलय सुर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिएको थियो।

नेपालमा खग्रास सुर्यग्रहण वि. सं. २०७७ असार ७ गते आईतबार बिहान १० बजेर ५३ मिनेटमा सुरु भई १२ बजेर ४१ मिनेटमा भएको थियो भने २ बजेर २४ मिनेटमा सकिएको थियो। त्यस दिन ग्रहण हेर्न चाहनेहरुका लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो कार्यालय परिसरमा अवलोकनको विशेष व्यवस्था गरेको थियो। सन् २०२० को दोस्रो तथा अन्तिम सुर्यग्रहण डिसेम्बर १४ तदनुसार वि. सं. २०७७ मङ्सिर २९ गते सोमबारका दिन लाग्नेछ तर नेपालबाट भने देखिने छैन।

चन्द्रग्रहण सम्बन्धमा:

सन् २०२० को पहिलो चन्द्रग्रहण नेपालबाट जनवरी १०/११ मा देखिएको थियो। वि. सं. २०७६ पुष २५ गते शुक्रबार राति १० बजेर ५२ मिनेट मा सुरु भई १२ बजेर ५५ मिनेटमा मध्य भएको ग्रहण राति २ बजेर ५७ मिनेटमा सकिएको थियो। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण थियो। सन् २०२० को दोस्रो चन्द्रग्रहण नेपालबाट देख्न सकिन्छ जुन आज राति लग्दैछ। ग्रहण जुन ५/६ तदनुसार वि. सं. २०७७ जेठ २३ गते शुक्रबार अर्थात् आज राति ११ बजेर ३० मिनेट मा सुरु भई राति १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ४९ मिनेटमा सकिनेछ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो।

सन् २०२० को तेस्रो चन्द्रग्रहण जुलाई ५/६ को राति लाग्ने छ भने नेपालबाट देख्न सकिने छैन। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो। सन् २०२० को चौथो तथा अन्तिम चन्द्रग्रहण नोवेम्बर ३० तदनुसार वि. सं. २०७७ मङ्सिर १५ गते सोमबार साँझ निकै छोटो समय देखिनेछ। यो ग्रहण चंद्रोमय हुनुभन्दा पहिलेनै सुरु भैसकेको हुने र चन्द्रोदय भएको केहि समयमा नै सकिने हुनाले हेर्नको लागि कुनै डाँडामा जानु उचित हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *