कोरोना जितेकी धनकुटाकी नर्सको अनुभव यस्तो छ-‘अस्पताल भित्रको वातावरणले तनाव मुक्त भइयो’

सुजता लिम्बू-

विराटनगर । कोरोना सङ्क्रमित धनकुटाकी एक नर्स पनि आज निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।  धनकुटा जिल्ला अस्पतालमा कार्यरत नर्स शिला सुब्बा विराटनगरस्थित कोभिड–१९ उपचार केन्दबाट बिहीबार निको भएर घर फर्केकी हुन् ।

उनलाई जेठ ४ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भए लगत्तै उनी विराटनगरस्थित कोरोना भाइरस (कोभिड–१९) उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।

नर्स शिला सुब्बाले सुरुमा कोरोना सङ्क्रमित भएको खबरले नरमाइलो लागेको अनुभव सुनाइन्, उनले भनिन्, ‘कोरोना सङ्क्रमित भएको खबर पाएपछि नरमाइलो लागेको थियो ।’

आफूहरू स्वास्थ्यकर्मीको भएकोले पनि कतिखेर सङ्क्रमित भइन्छ भन्ने कुरा थाहा भएको भन्दै मानसिकरुपमा पहिले देखिनै तयार रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हामी स्वास्थ्यकर्मी भएको हिसाबले कुनै न कुनै दिन सङ्क्रमित हुन्छौ भन्ने त थाहा थियो, मानसिकरुपमा तयार नै थिएँ तर कोरोना पोजेटिभ आउँदा थोरै तनाव त भयो ।’

यस्तै उनले भित्र बसेर सेवा दिएको र बाहिरबाट पाउनु पर्ने सेवा पनि धेरै पाएको बताइन् ।

उनले कोरोना सङ्क्रमित भइसकेपछि अरूलाई पनि सर्छकी भन्ने डरले समयमै आइसोलेसनमा आएको बताइन् । उनले भनिन्, ‘नरमाइलो महसुस भए पनि आफू जस्तै अरूलाई सङ्क्रमित बनाउन हुन्न भन्ने लागेर उपचारका लागि आइसोलेसनमा आएँ ।’

बाहिरको जस्तो तनाव अस्पताल भित्र नभएको उनी सुनाउँछिन् । उनी भन्छिन्,’आफू भर्ना भएको केही दिनपछि चार जना सहकर्मी साथीहरू भर्ना हुँदा बाहिर जस्तो तनाव थियो कोसी अस्पताल भित्र आएपछि त्यहाँको वातावरणले तनाव मुक्त भएको उनी सुनाउँछिन् ।’

अस्पताल भर्ना भइसकेको अवस्थामा आफू स्वास्थ्यकर्मी भएको नाताले पनि तीन जना साथीहरूसँग मिलेर कसरी आफ्नो जीवनशैली परिवर्तन गर्ने, कसरी कोरोनालाई जित्ने भन्ने विषयलाई निरन्तर खोजी गर्दै एक अर्कालाई साथ सहयोग गर्दै दैनिकी बितेको अनुभव उनले सुनाइन् ।’

आफू स्वास्थ्यकर्मी भएकाले अस्पतालमा आएका कोरोना सङ्क्रमित बिरामीहरूलाई अस्पतालको स्वास्थ्यकर्मीहरूसँग समन्वय गरेर साथ, सहयोग गरेको उनले बताइन् ।

उनी भन्छिन्, ‘हामीले स्वास्थ्यकर्मी भएको हिसाबले भित्र बसेर कोरोना सङ्क्रमित अन्य बिरामीलाई सेवा गर्‍यौँ, हामीले सेवा गरेको बिरामी हामीसँगै कोरोना जितेर डिस्चार्ज हुनुभएको छ, अत्यन्तै खुसी मिलेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *