बजेटमै समेटिएको ‘कोरोना बिमा’ शुक्रबारबाट बन्द

काठमाडौं। आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको बिमा कार्यक्रम शुक्र बारबाट बन्द गरिने भएको छ। कोरोना सङ्क्रमितहरूको सङ्ख्या धेरै बढेपछि बिमा कम्पनीहरूले थेग्नै नसक्ने दायित्व सिर्जना भएकाले कोरोना बिमा तत्कालका लागि स्थगित गरिएको हो।

आज बसेको बिमा समिति र बिमक संघको बैठकले कोरोना बिमा योजनाबाट पछि हट्ने निर्णय गरेको छ। निर्जीवन बिमा कम्पनीहरूको सङ्गठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले शुक्र बारदेखि पोलिसी स्थगन गर्न बिमा समितिमा प्रस्ताव गरिएको जानकारी दिए।

व्यवसायीले थप दायित्व बहन गर्न नसक्ने भन्दै यसलाई स्थगन गर्न लिखित आह्वान बुझाएपछि बिमा समितिले सहमति दिएको हो। बिमा समितिका एक अधिकारीले भने, ‘संघले नै भनिसकेपछि हामीले जबरजस्ती गर्ने कुरा पनि भएन, उहाँहरूको कुरामा हामीले सहमति जनायौं।’

कोरोना बिमा सुरु भएको दुई महिनामा करिब ३ लाखले बिमा गराएका छन्। नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो। महासचिव क्षेत्रीका अनुसार कोरोना बिमाबाट १६ करोड भन्दा बढी बिमा शुल्क आर्जन भएको महासचिव क्षेत्रीले बताए। हालसम्म बिमा दाबी भने कसैको पनि परेको छैन।

सामान्यतया युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो। समितिले एक हजारमा एक लाख बिमा र पाँच सयमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो।

बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजेटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नै कोरोना बिमा हुने उल्लेख गरेको थियो। सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ।

बजेटमा प्रिमियम शुल्कमा छुट दिएका कारण पनि बिमा कम्पनीहरू रुष्ट भएका छन्। प्रिमियममा छुट दिने बजेटले उल्लेख गरेको तर बिमा कम्पनीलाई सहुलियत हुने अन्य नीति नलिएको महासचिव क्षेत्रीले बताए। हाललाई स्थगन गरिएको तर कार्यविधि बनेर कम्पनीहरूलाई केही सहुलियत आएको अवस्थामा भने पुनः बिमा हुने उनले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *