लकडाउनको ७३ औँ दिनः खुल्न थाले विराटनगरका पसलहरू

विराटनगर । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको आज ७३ औँ दिनसम्म आइपुग्दा विराटनगरका अधिकांश पसलहरु खुल्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसी मेनेजमेन्टको बुधबार बसेको बैठकले ब्युटिपार्लर र होटल बाहेक अन्य पसलहरु खोल्न दिने निर्णय गरेसँगै विराटनगरका अधिकांश बजार खुल्न थालेका हुन् । बुधबार बसेको बैठकमा विराटनगर महानगर क्षेत्रमा बिहान ६ बजे देखि १२ बजेसम्म पसल खोल्न दिइने निर्णय भएको थियो ।

लामो समयको बन्दाबन्दीले दैनिकी असहज भएको तर आजदेखि १२ बजेसम्म बजार खुल्दा पनि केहि राहत मिलेको समिर टेलर्सका एमडी अलौदिन अनसारीले बताए । कोरोना संक्रमणको त्राससँगै स्वास्थ्य सुरक्षा अपनाएर नै पसल संचालन गरेको उनको भनाई छ ।

६ बजे देखि १२ बजेसम्म पसल खोल्न दिँदा धेरै राहत मिलेको अर्का एक ग्यालेक्सी चस्मा पसलका संचालक गंगा रायले बताए । आउने ग्राहकलाई सेनिटाईजर साथै हात धुने व्यवस्था मिलाएर नै पसल खोलेको उनको भनाई छ ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमसँगै विराटगरमा लकडाउन १२ बजेसम्मका लागि खुकुलो भएसँगै मानिसहरुको चाप र सवारीको आवागमन बढ्न थालेको छ ।








