चौतर्फी विरोध भएपछि कर तिर्ने नयाँ मिति तोकियो

काठमाडौं। लकडाउन अवधिमा कर तिर्न सूचना जारी गरेर चौतर्फी आलोचना खेप्नु परेपछि सरकार उक्त निर्णयबाट पछि हटेको छ। बुधबार उद्योग वाणिज्य महासंघको टोलीसँगको छलफलपछि सरकारले कर भुक्तानी गर्ने मिति परिवर्तन गर्न सहमत भएको हो।
आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गरेर जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी गर्न भनेको थियो। जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो। जसको चौतर्फी विरोध भएको थियो। व्यवसाय ठप्प रहेको अवस्थामा कर भुक्तानी गर्न नसकिने भन्दै व्यवसायीहरुले विरोध गरेका थिए। जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि साथ दिएको छ।
कर भुक्तानी गर्न विभागले जारी गरेको उक्त समय अवधि बढाएर अब असार ७ गते सम्म पुर्याइएको छ। अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ। नयाँ सूचनाअनुसार मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ।
यसैगरी, अन्तः शूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिला सोही समय अवधि भित्र गरिसक्नु पर्ने छ। विभागका अनुसार आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण पनि यस अवधिभित्रै कर दाखिला पनि गर्नुपर्छ। आयकर ऐन बमोजिम चैतमा बुझाउनुपर्ने चालू आवको संशोधित कर अनुमान र दोस्रो किस्ता बुझाउनुपर्ने म्याद उक साता बढी अर्थात् असार १५ हो।
यसबाहेक फागुन र चैतको शिक्षा सेवा शूल्क, टेलिफोन स्वामित्व शूल्क र दुरसञ्चार सेवा दस्तुर असार ७ सम्मै बुझाउनुपर्ने छ।








