शनिबार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा शनिबार थप १८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८९ मा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ। योसँगै सङ्क्रमितको सङ्ख्या एक हजार ४०१ जनामा पुगेको छ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ थपिएका सङ्क्रमितहरू मध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला रहेको बताए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १ सय २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनाको पोजेटिभ आएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जना सङ्क्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा पोजेटिभ देखिएको छ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा पोजेटिभ आएको छ। शनिबारबाट कोरोना सङ्क्रमित जिल्लाको सङ्ख्या ५३ पुगेको छ। प्रदेश १ मा १६० जना, प्रदेश २ मा ५४७ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ३० जना, प्रदेश ५ मा प्रदेशमा ५४७ जना कोभिड–१९ सङ्क्रमित रहेका छन्। कर्णाली प्रदेशमा ६१ जना तथा सुदूरपश्चिम प्रदेशमा २१ जना कोरोना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार थप १३ जना सङ्क्रमित उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले बताए। अहिलेसम्म नेपालमा कोरोना निको हुनेको सङ्ख्या २ सय १८ पुगेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म ६६ हजार ७ सय २९ नमुनाको परीक्षण गरिएको छ। त्यसै गरी १ लाख ७ हजार ५५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।

२४ घण्टाको अवधिमा पीसीआर विधिबाट २ हजार ५ सय ७५ नमुनाको परीक्षण गरिएको छ। १ हजार ५ सय ७७ आरडीटी विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म १ लाख १० हजार ७८ जना देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइन रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *