नेपकिनमा लेखिएको ‘मकालु खबर’को तीन वर्षः संभावना र चुनौतिका वर्ष

  • केशब सापकोटा

हिजो जस्तै लाग्छ मकालु खबर शुरु गरेको । आजबाट पत्तै नपाई चौथो वर्षमा प्रवेश गरिएछ । म यो सुखद घडीमा सबै शुभचिन्तक, पाठक, विज्ञापनदाता, सल्लाहकार, मकालु खबरमा आबद्ध सम्पूर्ण सञ्चारकर्मी साथीहरु तथा सहकर्मीहरुमा हार्दिक नमन टक्राउँदछु ।

२०७४ जेठ १६ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । मकालु खबर । अनौपचारिक रुपमा तीन महिना देखिको गृहकार्य, संभाब्यता अध्ययन तथा प्राविधिक तयारी गरिएको थियो ।

केशब सापकाेटा

पत्रकारितामा नयाँ काम गर्ने हुटहुटी त हैन । नढाँटी भन्नुपर्दा गरिखाने नयाँ बाटो यो पनि हुन्छ कि ! भनेर ‘मकालु खबर’ शुरु गरिएको हो । शुरुकै दिनबाट ‘मकालु खबर’ ले पत्रकारितामा नयाँपन देला, मूलधारभन्दा फरक होला भनेर अपेक्षा गर्नु बढि नै हुन्छ जस्तो लाग्थ्यो । आज चौथो वर्षमा प्रवेश गरीसकेपछि पनि हामीले हाम्रो स्पष्ट लक्ष्य भेट्टाउन पाएका छैनौं । तसर्थ, यो अभियान जारी नै छ रहनेछ ।

‘आ, जे पर्ला पर्ला आँटौं ।’ सहकर्मी सिआर बस्नेतले पुतली सडकको एउटा होटलमा लण्डनबाट नेपाल आएर केही गर्ने सोच बनाएका फिलिप डिसीसँग त्यसो भनेपछि मलाई पनि जोश आयो । ‘हुन्छ गरौं नत तर, नाम चैं के जुराउने ?’ मैले फ्याट्ट बोलिदिएँ । साँझको समय थियो, नाम जुर्न सकेन । भोलीपल्ट तीनै जना पुनः भेट गर्ने र नाम फाइनल गर्ने तय गरेर छुट्टियौं ।

भोलीपल्ट हामी तीनै जनाले केही नामहरु ल्यायौं । केही नाम राम्रा थिए । तर, हामीले त डोमेन लिनु पर्दथ्यो । ‘गो ड्याडी’ मा नाम दर्ता गर्न खोज्यौं कति त पहिल्लै दर्ता भइसकेका रहेछन् भने कति चैं आफैंलाई राम्रो लागेनन् । ‘लू यसरी हुँदैन, एउटा नाम जुराउन पनि यत्रो गलफत्ति ।’ दिक्क लाग्यो ।

हामी मध्ये कसले मकालुको नाम लियो फ्याट्टै थाहा भएन । तर कसैले ‘मकालु’को नाम लियो । मकालु न्यूज, न्यूज मकालु, मकालु अनलाईन, मकालु खबर, मकालु टूडे, खबर मकालु । मकालु जोडेर आधा दर्जन नाम लेखियो । बाहिर झमझम पानी परेर सितल थियो भित्र हामी तीन जनालाई भने एउटा नाम जुराउन पसिना छुटिरहेको थियो । ‘मलाई चैं मकालु न्यूज डटकम र मकालु खबर मन पर्यो । हामीमध्ये कसैले भन्यो । अन्तमा साँढे तीन घण्टाको छलफलपछि सबैको स्वीकारोक्ति भयो ‘मकालु खबर’ । हातमा कलम थिएन त्यहि भएर  होटलको टेवलकाे नेपकिन पेपरमा लेखियाे ‘मकालु खबर’

नामाकरण भयो, भोलीपल्ट डोमेन लिने भइयो । तर, हामीलाई थाहा थिएन कि वेभसाइट कसले डिजाइन गर्छ ?

अनलाइन डेभलपर टुरुप संग्रौला थिए । यसअघि पाठशाला टाइम्सको वेभसाइटमा केही समस्या आइपर्दा उनैले हेरिदिएका थिए । सामान्य चिनजान थियो । भेटघाटका एकदिन उनलाई वेभसाइटको काम दिने भइयो । यो सँगै कम्पनी रजिष्ट्रार कार्यालयमा शुलभ मिडिया प्रालि.नामको कम्पनी दर्ता गर्ने काम भयो । उता टुरुपजीले १५ दिनपछि मकालु खबरको ले–आउट तयार गर्नुभयो । यता हामीले कार्यालय राख्ने स्थान, कार्यालयको भौतिक संरचना निर्माण लगायतका कामहरु गर्यौं । चैत्र पहिलो हप्ताबाट शुरु भएको हाम्रो अभियानले पूर्णता पाउन लगभग दुई महिना लाग्यो ।

टुरुपजी चावहिल बस्नुहुन्थ्यो । उनकै कोठामा गएर मकालु खबरको अन्तिम लेआउट फिनिसिङ गर्ने काम गर्यौं । फिलिपजी, सिआरजी र म तीनै जना त्यो दिन उहाँको कार्यालयमा बस्यौं र,  ‘मकालु खबर’ भर्चुवल दुनियाँमा ल्याउने काम भयो ।

फिलिपजी, सिआरजी र म (तीन जनाको पार्टनरसिपमा) शुरु भएको मकालु खबरमा म र सिआरजीले व्यवस्थापन र समाचारको काम गर्ने कर्मचारी राख्ने योजना अनुरुप काम गर्न थाल्यौं । र, आजकै दिनमा अर्थात जेठ १६ गतेबाट औपचारिक रुपमा ‘मकालु खबर’ यहाँहरु माझ उदाएको हो ।

शुरुवाती दिनमा मकालु खबर केका लागि हेर्ने ? स्पष्ट भिजन थिएन । तर, हामी तीन जनामा पत्रकारिता गर्ने, त्यो पनि ब्यवसायीक पत्रकारिता भन्ने ‘भूत’ सवार थियो । हामीसँग केही पुराना सहकर्मीहरु साथमा थिए जो मध्ये केही यसअघि पाठशाला टाइम्समा काम गर्नुहुन्थ्यो । विराटनगर, चितवन, वुटवल, धरान, काठमाडौं गरी ७ जना जति भयौं । ‘ठिकै छ अहिलेलाई सानो टीम बाटै शुरु गरौं, पछि आवश्यक्ता अनुसार राखौंला ।’

विहान दिउसो बेलुका हुँदाहुँदा राती पनि नखटिए वेभसाइटले पिकअप नलेला भन्ने पिर पर्न थाल्यो । सिमित स्रोत साधन, अर्धदक्ष जनशक्ति, लगानीको अभावकाविच शुरु गरिएको ‘मकालु खबर’ ले विस्तारै गती लिन थाल्यो । समाचारमा तटस्थ रहने नीति अनुरुप सबै प्रकारका समाचार प्रकाशित गर्न थालियो । शिक्षा, स्वास्थ्य, राजनीतिक, आर्थिक तथा सामाजिक परिवेशका समाचारले विस्तारै पिकअप लिन थाले । एकाध महिनामा ‘मकालु खबर’ पूर्व र पश्चिमी क्षेत्रमा परिचित हुन थाल्यो । यस विचमा मकालु खबरमा जाेडिन आउनु भयाे यूवा ब्यवसायी इन्जिनियर हरि ओम दास । इन्जिनियरिङ पृष्ठभूमिका उहाँले मकालु खबरकाे व्यवस्थापन चुस्त दुरूस्त बनाउन तथा रणनीतिक याेजना बनाउन भूमिका खेल्नुभयाे र, अहिलेसम्म खेलिरहनु भएकाे छ ।

पहिलो र दोस्रो वर्ष हामीले ‘मकालु खबर’को टेक्निकल पाटो बलियो बनाउने काम गर्यौं । आज तेस्रो वर्ष पुरा गरी चौथो वर्षका प्रवेश गर्दै गर्दा मकालु खबरले आफुलाई दिन प्रतिदिन परिस्कृत, परिमार्जित बनाउँदै लगेको छ । अनलाईन पत्रकारीतामा एउटा मिठो नाम बन्न सफल भएको छ ।

पत्रकारीता चानचुने कुरा हैन । पत्रकारिताले समाजको राष्ट्रको आवाज मुखरित गर्नुपर्छ । यही उद्देश्यका साथ हामीले समाजमा विद्यामान सबै खाले विक्रिति विसंगति विरुद्ध आवाज उठाउने जमर्को गरेका छौं । ‘मकालु खबर’को तीन वर्षे यात्रामा धेरै उतारचढाव आए, आर्थिक, सामाजिक, राजनैतिक रुपमा हामीलाई छिन्नभिन्न पार्ने धेरै खेलहरु भए । तर, हामीले पत्रकारीता शुरु गर्दैगर्दा कसैसँग नझुक्ने कसम खाएका थियौं । र, सोही अनुरुप तीन वर्षको दौरान केही यस्ता विषयहरु हामीले उठायौं जसले हामीलाई अनलाईनहरुको भिडमा छुट्टै पहिचान दिलाउन सफल भयो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार तथा घुस प्रकरण, नेपाल इन्जिनियरिङ कलेज प्रकरण, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रश्नपत्र प्रकरण, वीर अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रकरण, सियोन स्कुल प्रकरण संभवत ‘मकालु खबर’ले तीन वर्षमा उठाएका गहन विषयहरु हुन् । यसका अलावा कयौं यस्ता विषयहरु छन् जसलाई ‘मकालु खबर’ले उठान गरेर राष्ट्रिय विषय बनाएको छ । जनता माझ परिचित बनाएको छ ।

कतिपय विषय उठाउँदा हामीलाई ब्ल्याकमेलिङ गर्ने काम भए, कतिपय विषयमा देशका उच्च ओहदामा रहेकाहरुबाटै कार्यालय घेर्ने, आर्थिक प्रलोभन दिलाउने त कतिपय कुरामा हाम्रो नैतिकता खरिद गर्ने काम पनि गरे । तर, पत्रकारीताको मुल्यमान्यता अनुरुप हामी न कोही सँग झुक्यौं न कसैसँग हात फैल्यायौं । मात्र हामीले समाजको ऐना बन्ने कोशिष गर्यौं । र, त्यसकै फलस्वरुप हामी आजबाट चौथो वर्षमा प्रवेश गर्न सफल भयौं । तीन वर्षको मकालु खबरले हामीलाई धेरै कुरा सिकायो । पत्रकारीताको मर्म बुझायो । समाज र राष्ट्रको महत्व के हो ? सिकायो ।

पत्रकारिता कुनै अर्को ग्रहबाट आएका व्यक्तिहरुले गर्ने विषय हैन । र, पत्रकारीता कुनै ब्यक्ति, समाज, परीवार, सिद्धान्त र पार्टीको पेवा पनि हैन । यो त स्वतन्त्र हुनुपर्छ । निष्पक्ष हुनुपर्छ । हामीले यहि सिद्धान्त बोकेका थियौं र छ । ‘मकालु खबर ताजा शुलभ र निष्पक्ष’ भन्ने मूल नाराका साथ अगाडी बढेको हाम्रो पत्रकारिताले कुनै पार्टीको झण्डा बोक्दैन । ‘मकालु खबर’ले दल विशेषको भजन गाउँदैन । ‘मकालु खबर’ले कुनै ब्यक्ति विशेषको गुणगान गाउँदैन । यसले त मात्र समाजको कुरा बोल्दछ । जनताको आवाज बोल्दछ । विडम्बना भन्नुपर्छ ‘मकालु खबर’ले कुनै दलको भण्डा नबोक्दा, कुनै सिद्धान्तको खोल नओढ्दा, कुनै वादमा पिछलग्गनु नहुँदा धेरै हण्डर खाएको छ । जसलाई हामीले शिक्षाका रुपमा ग्रहण गरेका छौं र, गरिरहनेछौं ।

अबको चुनौति

‘मकालु खबर’को पत्रकारीता अझै सजिलो छैन । विश्वब्यापी प्रतिष्पर्धा, कमजोर तथा अस्वस्थ बजार, सिमित स्रोत साधनका कारण हामी तीन वर्षमा जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न सकेनौं । पछिल्लो दिन विश्वब्यापी कोरोना भाइरसको महामारीमा देश नै ठप्प भएको बेला अब हाम्रो यात्रा कता लैजाने ? कसरी अगाडी बढ्ने ठूलो चूनौति खडा भएको छ । विज्ञापनकाे बजार सुसुप्त भएकाे छ ।

कोरोना महामारीले नेपालको अर्थतन्त्र नै धरासायी भएको अवस्थामा ‘मकालु खबर’ लाई अहिलेको लकडाउनबाट कसरी माथि उठाउने ? यसलाई आम जनताको साझा प्लेटफर्म कसरी बनाउने ? भन्ने चुनौति छ । त्यसमाथि पछिल्लो समय अनलाईन पत्रकारीता विस्वसनीय हुन सकिरहेको छैन । ‘एउटाले विराउने साखाले पिराउने’ भनेजस्तो एकाध अनलाइनले बाटो विराउँदा, पत्रकारीताका मुल मर्म भुल्दा सारा अनलाइनलाई एउटै टोकरीमा हेर्ने काम भएको छ । यो भ्रमलाई आम जनताका माझबाट हटाएर स्वस्थ र स्वच्छ पत्रकारीता गर्नु हाम्रो चुनौति हो ।

राज्यले नेपालको पत्रकारीतालाई ब्यवसायीक बनाउने तर्फ अझै ठोस कदम चाल्न सकेको छैन । अनलाइन पत्रकारीतालाई त राज्यले पत्रकारीता नै हैन जस्तो ठानेको छ । पत्रकारीतालाई व्यवसायीक गराउन, स्वस्थ पत्रकारीता गर्न गराउन राज्यले जून रुपमा भूमिका खेल्नु पर्दथ्यो त्यो नभइरहेको अवस्थामा हामी चैं राज्यको मात्रै मुख ताकेर हैन अब आफैं गर्नुपर्छ भनेर लागेका छौं ।

‘मकालु खबर’को तीन वर्षे यात्रामा हामीले प्राप्त गरेका सफलतालाई मात्र हैन असफलतालाई पनि एउटा शिक्षाका रुपमा लिएका छौं । ‘हिँड्ने मान्छे लड्छ’ भने झैं समाजमा विद्यामान सबैखाले विक्रिति विसंगति विरुद्ध कलम चलाउँदै गर्दा कतिपय अवस्थामा हामी सफल भयौं असफल भयौं ति सबैलाई शिक्षाका रुपमा ग्रहण गर्दै आगामी दिनमा अझ शशक्त र निष्पक्ष तटस्थ भएर व्यवसायीक पत्रकारीताको पक्षमा उत्रने प्रण गर्दछौं ।

मकालु खबरकाे यात्रामा प्रत्यक्ष, अप्रत्यक्ष जाेडिनु हुने सम्पुर्ण कर्मचारी, पत्रकार, सल्लाहकार, शुभेच्छुक, शुभचिन्तक तथा पाठकमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयाेगकाे अपेक्षा राख्दछु ।
धन्यवाद !

प्रकाशक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *