उच्च जोखिममा गर्भवती र सुत्केरी, लकडाउन अवधिमा ३० जनाले ज्यान गुमाए

काठमाडौं । लकडाउनको अवधिमा नेपालमा ३० जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन् । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाको सङ्क्रमण फैलिन नदिन भन्दै लागू गरिएको लकडाउन अवधिमा ३० गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका हुन् ।

मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या झण्डै चार गुणा बढी हो । शाखाका प्रमुख डा. पुन्या पौडेलका अनुसार गतवर्ष यो अवधिमा ८ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका थिए । लकडाउनको अवधिमा २८ जना गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य संस्थामा पुगेपछि र दुई जनाको घरमै मृत्यु भएको उनले बताइन् ।

लकडाउनले गर्दा समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन नसक्दा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको हो । यातायातको असुविधाको साथै अस्पताल गए रोग सर्छ भन्ने डर जस्ता कारणले अन्तिम अवस्थामा मात्रै अस्पताल पुर्‍याउनु, रक्तश्राव, परिवारको लापरबाही, पाठेघर फुटेको जस्ता समस्याले अस्पताल पुगेपनि बचाउन नसकिएको चिकित्सकहरू बताउँछन् ।

नर्मल डेलीभरी गाउँकै स्वास्थ्य संस्थामा हुने र जटिल भएपछि अन्तिम अवस्थामा मात्रै सुविधासम्पन्न अस्पतालमा पुग्ने भएकोले बचाउन कठिन हुने गरेको केलहलपुर मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडिया बताउँछन् । उनी भन्छन्, ‘बच्चा अड्केको, हात पहिला निस्केको, बच्चाको मृत्यु भइसकेको, जन्मिने दिन नाघेका केसहरू अन्तिम समयमा मात्रै आउँछन्। बचाउने प्रयास गर्दागदै कतिपयको ज्यान जान्छ ।’

लकडाउनको अवधिमा गर्भवती तथा सुत्केरी महिलाको स्याहार कसरी गर्ने भन्ने सम्बन्धी गाइडलाइन बनाएको हुँदा अब स्वास्थ्य सेवा सुलभ हुने दाबी मातृ तथा नवशिशु शाखाको छ । शाखाका अनुसार लकडाउनको अवधिमा रौतहटको गौर अस्पताल, हेल्पिङ ह्याण्ड, सप्तरी, कलैया अस्पताल बारा, शिक्षण अस्पताल, कालिकोट, मेहलकुना अस्पताल सुर्खेत, पाँचथर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, धुलिखेल अस्पताल, चितवन मेडिकल कलेज, पोखरामा एक(एक जना गर्भवती तथा सुत्केरी महिलाको ज्यान गएको छ ।

यस्तै कपिलवस्तु अस्पतालमा दुई जना, युनिभर्सल मेडिकल कलेज रुपन्देहीमा तीन जना, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना, कोहलपुर मेडिकल कलेजमा पाँच जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन् । घरमै सुत्केरी हुँन खोज्दा अछाम र बारामा एक(एक जना महिलाको ज्यान गएको बताइएको छ । सुत्केरी तथा गर्भवतीको अवस्था नाजुक बन्न थालेपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृत्तिले गर्दा ज्यान जोखिममा पर्ने स्वास्थ्यकर्मी बताउँछन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *