सीमा रक्षाका लागि ३९ विओपी स्थापना गरिने

काठमाडौं । सरकारले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको थप ३९ वटा सीमा निगरानी चौकी (विओपी) स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री डा खतिवडाले ती विओपीका लागि आवश्यक बजेट विनियोजन गरिएको बजेटमार्फत जानकारी दिएकाछन् । यसअघि सीमा क्षेत्रमा १२१ चौकीबाट सशस्त्रले सीमा रक्षा गर्दै आएको छ । गत वर्ष मङसिरमा सरकारले ११४ वटा चौकी थप्ने निर्णय गरेकामा अहिलेसम्म जम्मा १४ वटा मात्रै स्थापना गरिएको छ ।
वैशाख २१ गते नेपाल, भारत र चीनको त्रिदेशीय नाका रहेको दार्चुलाको छाङरुमा सीमा निगरानी पोष्ट स्थापना गरिसकेको छ । अन्य क्षेत्रमा पनि क्रमशः विस्तार गर्नेक्रम जारी छ । अन्तरराष्ट्रिय सीमा सुरक्षा र संरक्षणलाई सुदृढ गरिने बजेटमा उल्लेख छ ।
नेपाल–भारत सीमा क्षेत्र एक हजार ८८० किलोमिटरको छ । सो क्षेत्रमा विओपी औसत दूरी करिब १७ किलोमिटरको हुँदा सीमा अपराध र सीमाको सुरक्षा प्रभावकारी हुन सकिरहेको छैन । सीमामा सुरक्षाकर्मी घटनाएर औसत दूरी चार/पाँच किलोमिटरमा झार्नुपर्ने आवश्यकता छ ।








