कोरोना उपचारमा ‘हाइड्रोक्सीक्लोरोक्वीन’ प्रयोगमाथि प्रतिबन्ध

काठमाडौं । औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड-१९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको सुरक्षा त्रासका कारण रोकिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ‘अस्थायी रूपमा’ रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले सोमवार जनाएको हो । हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोभिड-१९ विरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको जनाएका थिए । उनले कोभिड-१९ को उपचारमा यस औषधि ‘गेम चेन्जर’ हुने भन्दै त्यसले अवस्था फेरिदिने बताउँदै आएका थिए । सार्वजनिक स्वास्थ्य अधिकारीहरूले भाइरस सङ्क्रमितमा उक्त औषधिले मुटुमा समस्या ल्याउनसक्ने चेतावनी दिँदै त्यसबारे स्पष्ट नबोले पनि ट्रम्पले भने बारम्बार उक्त औषधिको प्रवर्द्धन हुनेगरि बोलेका थिए ।

अध्ययन
गतसाता एउटा मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनमा हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोनाभाइरसका बिरामीको उपचारमा प्रयोग गर्नुको कुनै फाइदा नभएको जनाइएको थियो । बरू यसले भाइरसका कारण बिरामी परेकाहरूको मृत्युको सङ्ख्या बढाउन सक्ने उक्त अध्ययनमा जनाइएको थियो ।

डब्ल्यूएचओको आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले आफूहरूको निर्णय ‘कुनै समस्यासँग जोडिएर नभएको’ बताए । उनले भने- ‘विश्वभरि भइरहेका सोलिडारिटी ट्रायलमा कुनै समस्याका संकेत पनि छैनन् । तैपनि हालैको एक अध्ययनलाई आधार मानेर हामीले सावधानी अपनाएका हौँ ।’

हाइड्रोक्सीक्लोरोक्वीन औलोको लागि सुरक्षित औषधि मानिए पनि अहिलेसम्म कुनै परीक्षणले यसलाई कोभिड-१९ का लागि प्रयोग गर्न सुझाएका छैनन् । यो एक सस्तो, प्रचलित र सजिलै उत्पादन गर्न सकिने औषधि हो । औलोका बिरामीलाई यसले ज्वरो तथा सुजन कम पार्न सहयोग गर्छ । औलो रोगका बिरामीले यो अझै प्रयोग गर्न सक्छन् ।

परीक्षण
ल्यान्सेटको अध्ययनले ९६ हजार कोरोनाभाइरसका बिरामीलाई समेटेको थियो । जसमा १५ हजारलाई उक्त औषधि दिइएको थियो । कसैलाई उक्त औषधिसँगै एन्टीबायोटिक समेत दिएर परीक्षण गरिएको थियो ।

त्यसरी परीक्षण गरिएका समूहमा मत्युदर हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गरिएकामा १८ प्रतिशत, क्लोरोक्वीनमा १६.४ प्रतिशत र नियन्त्रित समूहमा ९ प्रतिशत पाइएको थियो । हाइड्रोक्सीक्लोरोक्वीन वा क्लोरोक्वीनलाई एन्टीबायोटिक सहित परीक्षण गरिएकाको मृत्युदर अझ बढी पाइएको थियो । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *