कोरोनाविरुद्धको खोप सफल भएको दाबी, थप १० हजारमा परीक्षण गरिदै

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाममा सफलता हात परेको दाबी गरिएको छ । बेलायत र चीनका वैज्ञानिकहरूले कोभिड-१९ विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका हुन् ।

अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको थियो । त्यो निकै प्रभावकारी देखिएकाले अब दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वान गरेको विश्वविद्यालयलले जनाएको छ ।

उता चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो ।

अब दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ । अक्सफोर्ड खोप समूहले परीक्षणको अर्को चरणमा वृद्धवृद्धाहरूको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित रहने जनाएको छ । परीक्षणको नतिजा सेप्टेम्बरसम्म प्राप्त हुने बेलायती अनुसन्धानकर्ताहरूको विश्वास छ ।

कोरोना भाइरसविरुद्धको खोप छिट्टै बजारमा आइसक्ने विश्वास बेलायतका सरकारी अधिकारीको छ । ब्रिटिस सरकारले आउँदो सेप्टेम्बरसम्ममा कोभिड-१९ खोपका ३ करोडसम्म डोज उपलब्ध भइसक्ने जनाएको छ । व्यापार व्यवसाय मामिला हेर्ने बेलायती मन्त्री आलोक शर्माले ब्रिटिस वैज्ञानिक तथा अनुसन्धाताहरूको प्रयत्नको प्रशंसा गर्दै आफूलाई गर्व लागेको बताए ।

अक्सफोर्ड विश्वविद्यालयमा खोपको क्लिनिकल परीक्षण राम्रोसँग अगाडि बढिरहेको र त्यो सफल भए गर्मीयाम नसकिँदै खोप तयार हुने उनको भनाई छ । कोभिड-१९ खोप छिट्टै बजारमा आउने सम्भावनाले बेलायतवासी आशावादी देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *