नेपाली भू-भाग फिर्ता लिइछाड्छौं भनेर संकल्प गरौं : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली भूभाग फिर्ता लिइ छाड्छौं भन्ने संकल्प प्रस्ताव ल्याएका छन् । उनले संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव ल्याएका हुन् ।

सांसद थापाले भनेका छन्, संविधानमा नयाँ नक्सा संशोधन गरेसँगै भारतको उपस्थिति तथा नियन्त्रणबाट नेपाली भू-भाग प्रभावकारी नियन्त्रणसहित फिर्ता लिइछाड्छौं भनेर संकल्प गरौं ।’ सीमासँग सम्बन्धित विषयमा कांग्रेस र नेकपा संसदले संसदमा दर्ता गरेको दुई संकल्प प्रस्तावलाई पुनर्लेखन गरेर परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेकर कालापानीसहितको हाम्रो भू-भाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्पसहितको साझा संकल्प प्रस्ताव मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट पारित गरौं ।’

यस्तै उनले राष्ट्रिय प्रतिवद्धताको विषय भएकाले संविधान संशोधन प्रस्ताव द्रूत गतिमा सर्वसम्मत पास गर्नुपर्ने बताए । नेपालको नयाँ नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाइँमा महत्वपूर्ण अध्याय सुरु हुने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘यस उप्रान्तको काम कूटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्नेछ । यतिखेर भारतले नेपाली भूभागमा उपस्थितिसँगै नियन्त्रण राखेको छ, अबको बाटो भनेको हामीले हाम्रो भू-भागबाट भारतीय उपस्थिति तथा नियन्त्रणको अन्त्यगरी आफ्नो प्रभावकारी नियन्त्रण कायम गर्ने ।’

सांसद थापाले आन्तरिक मामिलामा मतभेद भए पनि राष्ट्रिय स्वाभिमानका खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा सबै एक ठाउँमा उभिएको बताए । नेपाली भू-भागमा नेपाली सार्वभौम शक्ति स्थापित नभएसम्म यो एकता अझ कायम रहनुपर्ने थापाको भनाइ छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेसँगै निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *