विदेशबाट फर्किन चाहने आफ्ना नागरिकको तथ्यांक संकलन गर्दै गाउँपालिका

स्याङ्जा। फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहनेको नामावली संकलन गर्न शुरु गरेको छ। कोरोनाको महामारीसँगै विदेशमा रहेका गाउँपालिकावासीको तथ्यांक संकलनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाल आउन चाहने गाउँपालिकाबासीको तथ्यांक संकलन गरिएको र अहिलेसम्म ४०० बढीले आवेदन दिइसकेको बताए।

विदेशबाट फर्किएकालाई युवा स्वरोजगार बैँकमार्फत रोजगारी दिने योजनामा गाउँपालिका रहेको अध्यक्ष सुवेदीले बताए। सुवेदीले भने, वैदेशिक रोजगारीबाट फर्किएका समूहमा काम गर्न चाहने युवाको समूहलाई पाँच लाख रुपैयाँसम्म बिनाधितो ऋण दिन्छौँ।

युवालाई गाउँमै राख्न सक्ने अवस्थाको निर्माण नहुँदासम्म देशको विकास सम्भव नभएको बताउँदै जतिसक्दो गाउँघरमै रोजगारी सिर्जना गर्ने अभियानमा गाउँपालिका रहेको सुवेदीले बताए।

कृषि, पशुपालन र घरेलु उद्योग गर्न चाहने युवाहरुको समूहलाई बिनाधितोमा ब्याज तिर्नु नपर्ने गरी लगानी गरिने सो रकम किस्ताबन्दीमा पाँच वर्षसम्म फिर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =