नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको बिकास क्रम र अबकाे कार्यदिशा

  • अन्जना शिवाकोटी

नेपालमा पहिले कुनैपनि मार्सल आर्ट खेल खेलाउन र सिकाउन अनुमति दिइएको थिएन । विशेषगरि खेलकुद राज परिवारका रुचि अनुसार दरबारमा मात्र सिमित थियाे । देशमा भएको विभिन्न खाले परिवर्तन व्यवस्थासँगै खेलकुदलाई पनि बिस्तार गरियो ।

बि.स. २०१५ साल तत्कालिन शिक्षामन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद गठन गरियो । पछि उक्त परिषदलाई २०१७ साल फागुन १७ गते राष्ट्रिय खेलकुद परिषदमा परिणत गरियो । प्रत्येक २-२ बर्षमा हुनेगरि खेलकूदकाे महाकुम्भ मेला प्रथम राष्ट्रिय खेलकुद २०३८ साल भदौ २७ बाट सुरुवात गरियो । मार्सल आर्ट भने तेस्रो राष्ट्रिय प्रतियोगिताबाट समाबेश गरिएकाे पाइन्छ । त्यसपछि मार्सल आर्ट अन्तर्गतका विभिन्न संघ महासंघहरु रा.खे.प.मा दर्ता गरिन थालियाे ।

अञ्जना शिवाकाेटी

मार्सल आर्ट अन्तर्गत कै अत्यन्तै लोकप्रिय खेल तेक्वान्दोकाे संघ अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पनि एक हो । कोरियाबाट उदय भएको यस खेलका संस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही थिए । हाेङ्हीले तेक्वान्दोलाई आर्ट अफ सेल्फ डिफेन्स भनेका छन् । ITF Taekwondo भन्नाले हात, खुट्टा, आँखाबाट खेलिने एक कलात्मक/रचनात्मक खेल हो । यस खेलको मुख्य उद्देश्य शारीरिक स्वास्थ्यसँगै आत्मरक्षा गर्ने हाे । यसले बौद्धिकता, नैतिकता, सामाजिक परिवर्तन सँगै बिश्व शान्तिको अपेक्षा राख्दछ ।

नेपालमा तेक्वान्दो खेलको सुरुवात आधिकारिक रुपले २०५४ सालमा स्याङ्जाको जिल्ला प्रशासनको कार्यलयमा दर्ता गराए पछि सञ्चालनमा आएको हो । यस खेलको सुरुवाती समयमा नेतृत्वले निकै संघर्षबाट महासंघ तयार गरेकाे छ । आजसम्म आउँदा संस्थाको नेतृत्वलाई भुल्न सकिन्न ।

श्री खड्क बहादुर रानाभाट (1998)
श्री राम नाथ ढकाल (1999-2000)
श्री राज कुमार थापामगर (2000-2003)
श्री कृष्ण बलाल (2003-2012)
श्री कुमार थापा (2011-2013)
श्री अन्जुनाथ श्रेष्ठ (कार्यबाहक अध्यक्ष 2014)
हाल श्री अन्जन धमला 2016

संस्थापक अध्यक्ष खड्क रानाभाटको अध्यक्षतामा महासचिव राजकुमार थापा कोषाध्यक्ष बिद्रोह विष्ट लगायतका ७ सदस्यबाट दर्ता भएको नेपाल आइटिएफ तेक्वान्दोले विभिन्न नेतृत्व प्राप्त भएसँगै यस खेलको बिकास र बिस्तार अघि बढ्दै गयो। सुरुवातमा WTF का राष्ट्रिय कोच तथा राष्ट्रिय खेलाडी राजकुमार थापा र कराँतेका राष्ट्रिय कोच डम्बर बा.जङ्ग गुरुङ लाइ भियना, अस्ट्रियामा रहेको ITF को मुख्य कार्यालयबाट निमन्त्रणा आई सन् १९९८ मा तिन महिने विशेष तालिम लिएर नेपाल फर्किएपछि उहाँबाटै प्रशिक्षण गराउन सुरु भयाे ।

त्यसपछि सन् २००० मा नेपालमा ITF को बिकास र बिस्तारका निम्ति नेपालमा पहिलो पटक संस्थाका संस्थापक जनरल च्योइ होङ्ही नेपाल आउनु भयो र सेमिनार दिनु भयो। सन २००९ मा नेपाल आर्मि र नेपाल प्रहरी वलमा तेक्वान्दो खेल समाबेश गराउन सफल भयाे ।

महासंघले आजसम्म आइपुग्दा सबै प्रदेशमा आफ्नो संघ निर्माण गरी सातै प्रदेशमा विस हजारको हाराहारीमा खेलाडीहरु उत्पादन गर्नुका साथै हजारौं ब्ल्याक बेल्ट, रेफ्री आदि तयार पारेकाे छ । बिगतको बर्षमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट सहभागी गराइएको थियो ।

यस महासंघले नेपालमै विभिन्न ठुला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गराउनुका साथै बिदेशमा आयोजना गरिएका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै विभिन्न खाले पदक हासिल गर्दै आएको छ । महासंघले आफ्नै बार्षिक क्यालेन्डर बनाई खेलकुदका गतिविधि गर्ने गरेको छ । प्रत्येक वर्ष सस्थापक जनरल च्योइ होङ्हीको सम्झनामा राष्ट्रिय प्रतियोगिता गराउने, रा.खे.प.ले आयोजना गर्ने प्रतियोगितामा सहभागी गराउने, प्रदेश जिल्लाका संघले स्थानीय सरकार र सरोकारवालाहरु सँगको सहयोगमा राष्ट्रिय प्रतियोगिता गर्ने गराउने गर्दछन् ।

महासंघको प्रत्येक वार्षिक उत्सवमा सामाजिक कार्य मनाइनुका साथै वर्ष भरिका गतिविधिको समिक्षा र आगामी योजना तय गरिन्छ । महासंघले पारदर्शिता साथ काम गर्ने गरेको छ । महासंघले सन २००० मा अन्तर्राष्ट्रिय सेमिनार ITF कै जन्मदातालाई नेपाल ल्याएर सम्पन्न गर्यो भने सन २०१४ मा १००० खेलाडी सहित १९ देशकोको उपस्थितिमा ७ औं दक्षिण एसियाली ITF तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्रयाे । जुन नेपाल मार्सल आर्ट क्षेत्रकै ऎतिहासिक प्रतियोगिता रहन गयो ।

दक्षिण एसियाली प्रतियोगिता बिकास र बिस्तारमा नेपालको महत्त्वपूर्ण भुमिका रहेको छ । महासंघले नेपालमै ४ ओटा दक्षिण एसियाली प्रतियोगिता सम्पन्न गरिसकेको छ (२००८,२०११,२०१४,२०१८) मा । खेलाडी तथा प्रशिक्षकको स्तर बिकासका निम्ति विभिन्न समयमा अन्तर्राष्ट्रिय प्रशिक्षकलाई नेपाल ल्याएर सेमिनार गर्दै आएको छ ।

महासंघको स्थापनाकाल देखि रेखदेख तथा नेतृत्व गर्दै आउनु भएका संस्थापक सदस्यहरु रमेश सिलवाल आज रा.खे.प.मा सदस्य सचिव हुनुहुन्छ । त्यस्तै पिताम्वर तिमल्सिना रा.खे.पकै बोर्ड उपाध्यक्ष हुनुहुन्छ भने महासंघ स्थापनाकालमा अभिभावकत्व प्रदान गर्दै आउनु भएका बिष्णु पौडेल आज नेकपाका महासचिव हुनुहुन्छ । त्यसैगरि प्रदीप नेपाल नेकपाकै केन्द्रीय सदस्य हुनुहुन्छ भने प्रदिप ज्ञवाली नेपाल सरकारको परराष्ट्रमन्त्री हुनुहुन्छ । राखेपका सदस्य सचिव हुँदा यस खेलको बिकास र बिस्तारका निम्ति विशेष सहयोग गर्नुहुने युवराज लामा अनि केशव बिस्ट पनि हुन् ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ खेलकुद गतिविधि मात्र गर्ने गराउने मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै सक्रियताका साथ सहभागिता जनाउँदै आएको छ। तत्कालिन अध्यक्ष कृष्ण बलालको अध्यक्षतामा स्थापना दिवस पारेर रत्तदान कार्यक्रम, वृद्ध आश्रममा खाना खुवाउने, सरसफाई जस्ता रचनात्मक गतिविधि निरन्तर गरिँदै आइरहेको छ।

हावाहुरी, बाढी पहिरो भुकम्प जस्ता प्राकृतिक प्रकोपको बेलामा आफ्नो ठाउँबाट सहयाेग र सहभागिता जनाउँदै आएको छ । समाजमा घटेका विभिन्न खाले हिंसाका विरुद्ध आफ्नो ठाउँबाट आवाज उठान गर्दै आएको छ। पछिल्लो समय बढ्दै गैरहेको महिला हिंसा न्यूनिकरणमा महासंघले आफ्ना प्रदेश भरी रहेका संघ मार्फत स्थानिय सरकार संघसस्थासँग सहकार्य गर्दै महिलाहरुको आत्मबल वृद्धि गर्ने, आत्मसुरक्षाका निम्ति तालिम गराउँदै आइरहेको छ ।

मार्सल आर्ट भन्ने वित्तिकै सामाजिक गुण्डा उत्पादन गर्ने कारखानाको हो भन्ने भ्रम नेपाली समाजबाट चिर्न यस खेलको महत्त्वपूर्ण भुमिका रहेको छ । युवा अवस्थामा पुगेपछि धेरै युवाहरु लागू औषधको दलदलमा फस्ने गरेको पाइन्छ, सामाजिक मानसिक चिन्ताले युवा डिप्रेसनमा जाने गरेका छन । यस्ता सामाजिक समस्या न्यूनिकरणमा संघको निरन्तर प्रभाव रहँदै आएको छ । विद्यालय स्तरबाट नै सिकाइने तेक्वान्दो खेलले जनमानसमा तेक्वान्दोको असली परिभाषा सिकाएको छ।

धैर्यता, इमान्दारीता, अदम्यसाहस, नम्रता, आत्मबिश्वास जस्ता ५ सिद्धान्तबाट प्रशिक्षण गराइन्छ । खेलकुद मेडल वा सर्टीफिकेटका लागि मात्र नभइ शारीरिक, मानसिक र सामाजिक रुपमा तन्दुरुस्त रहदै देशभक्त सच्चा नागरिक बन्न सिकाउने नर्सरी पनि हो । दिन प्रतिदिन असुरक्षित बन्दै गएको हाम्रो समाजमा सुरक्षाको प्रत्याभूत गराउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने क्षमताको बिकास गर्ने खेलकुद प्रति राज्य वा समाजको कम प्राथमिकता रहेको महासंघले रचनात्मक तरिकाबाट यसको महत्त्व दर्शाउँदै आएको छ ।

हामीले परिकल्पना गरेको खेलकुद मैत्री समाज, सुन्दर शान्त समाज निर्माणमा तेक्वान्दाे खेलको पनि महत्त्वपूर्ण भुमिका छ । यदि सम्बन्धित निकायको अझ साथ रहँदा स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै भविष्यमा महासंघ अझ शसक्तरुपमा अगि बढ्दै देशलाई जिम्मेवार, इमानदार, नैतिकवान, कर्मनिस्ठ स्वस्थ योद्धा उत्पादन गर्ने माध्यम बन्ने छ ।

पछिल्लो समय रा.खे.प.मा संघ दर्ता गर्ने सङ्ख्या बढ्दो छ । लगभग दुई सयको हाराहारीमा पुगेका संघहरु कुनै झोलामा छन् त कुनै निष्क्रिय । अहिलेको नेतृत्वले विशेष अध्ययन गरि निष्क्रिय रहेका संघलाई कार्वाही गर्ने तथा खारेजी गर्दै संघहरुको व्यवस्थापनमा जुटेकोछ । तर नेपालमा यस्ता थुप्रै महासंघ हरुपनि छन जुन सक्रिय त छन तर, नतिजा चैं शून्य छ । राज्यको पुर्ण लगानी अनि बिशेष प्राथमिकतामा पर्दै आएका यस्ता संघहरुले नेपाललाई ठोस नतिजा (मेडल दिलाउन) दिन सकिरहेका छैनन् ।

रा.खे.प.को प्राथमिकताभन्दा बाहिर रहेका संघहरुले भने बेलाबेला पदक दिलाउन सफल भैरहेका छन । नेपाल आइटिएफले सुरुवात देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक बढिनै दिलाउँदै आएको छ । छैटौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपाललाई ३४ स्वर्ण ४३ रजत ६१ कास्य पदक प्राप्त भएकाे थियाे ।

विस हजार भन्दा बढी खेलाडी रहेको तेक्वान्दो महासंघले हजाराैंको सङ्ख्यामा प्रशिक्षक रेफ्री उत्पादन गरिसकेको भएपनि यति ठूलो संघका सबै प्रशिक्षक भोलियन्टरका रुपमा प्रशिक्षण गराउँदै आएका छन् । आजसम्म पनि रा.खे.प.का प्रशिक्षक नियुक्ति गर्न सकिरहेको छैन ।

प्रत्येक वर्ष नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउँदै आएको, देशका ७ ओटै प्रदेशमा बिकास र बिस्तार गरि खेलकुदको गरिमालाई उच्च पार्दै राज्यको गरिब झुपडीसम्म पुगि राज्यलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गराउँदै तेक्वान्दो संघ नेपाल आर्मी अनि नेपाल पुलिस बलमा समेत समावेश गराई उत्कृष्ट नतिजा दिन सफल भैरहेका यस्ता संघहरुलाई पनि समेट्ने गरि रा.खे.प.को दायरा फराकिलो बनाउन जरुरी छ।

अहिले रा.खे.प.को नेतृत्व सबैको आशा र भरोसाको केन्द्र बनेको छ । बिगतमा भन्दा केही फरक अनि आधुनिक तवरबाट खेलकुद बिकास र बिस्तार गर्ने कुरामा हामी आम नेपाली खेलाडी प्रशिक्षक बिस्वस्त छौं ।
(शिवाकाेटी नेपाल आइटिएफ तेक्वान्दो कार्यकारी सदस्य तथा प्रदेश नं. २ कि अध्यक्ष हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *