दार्चुलाको घाँटीबगर इलाकामा पुग्यो नेपाली सेना

काठमाडौँ । महाकाली करिडोरअन्तर्गतको दार्चुला टिंकर सड्क योजनाको ८७ किलोमिटर सडक बनाउन नेपाली सेना त्यसतर्फ पुगेको छ ।

नेपाली सेनामार्फत निर्माण गराउने निर्णय भए अनुसार सो सडक खण्ड अन्तरगत पर्ने दार्चुला जिल्लाको व्यास गाँउपालिका वडा-२ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटोरघोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीसहित विहिबार घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको छ ।

साथै बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली शुक्रबार तैनाथ गर्ने नेपाली सेनाले जनाएको छ ।

चीन र भारतको सिमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि व्यास गाउँपालिका -२ मा पर्ने मौरी भिरमा ठुलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएक छन् ।

तसर्थ घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक खण्ड निर्माणको लागी नेपाली सेनाको प्रावधिक जनशक्तिसहितको फौज घाँटीबगर ईलाकाको थी ईलाकामा तैनाथ गर्ने योजना मुताविक आज सो फौज तैनाथ भएको हो ।

सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *