भारतले भन्यो- ‘नयाँ नेपाली नक्सालाई स्वीकार गरिनेछैन’

काठमाडौं । नेपाल सरकारले जारी गरेको नयाँ राजनीतिक नक्साप्रति भारतले असहमति जनाएको छ । नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेलगत्तै भारतले नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको हो ।

नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भारतको प्रतिक्रिया छ । नेपालले बुधबार सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र समेटेर जारी गरेको नक्साबारे भारतको विदेश मन्त्रालयले बुधवार साँझै आफ्नो औपचारिक प्रतिक्रिया जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ती क्षेत्रहरू भारतीय भूभाग भएको दाबी गरेका छन् । ‘नेपाल सरकारले नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ जसमा भारतीय भूभागहरू पनि परेका छन्,’ प्रवक्ता श्रीवास्तवले भने, ‘यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।’

नेपालले आफ्नो भूमिलाई कृत्रिम रूपमा विस्तार गरेको भन्दै श्रीवास्तवले भारतले त्यसलाई अस्वीकार गर्ने बताए । यो विषयमा भारतको निरन्तरको अडानबारे नेपाललाई राम्ररी थाहा भएको भन्दै उनले नेपाललाई नक्सासम्बन्धी अनुचित दाबी नगर्न र भारतको स्वायत्तता र भौगोलिक अखण्डतालाई सम्मान गर्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *