काठमाडौंबाट हिँडेर मोरङ पुगे भारतीय मजदुर, भन्छन्ः हामी हाम्रो देश फर्कन चाहन्छौं

  • सुजता निङ्लेकु

विराटनगर। सिराहा क्वारेनटाइनबाट आएका ८ जना भारतीय मजदुरलाई उद्धार गरिएको छ। मोरङको धनपालथान कदमाबाट भारतीय मजदुरहरूलाई उद्धार गरिएको हो। उनीहरु घर फर्किन सिराहाबाट एम्बुलेन्समा मोरङ पुगेका हुन्।

जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहमा उनीहरुको मंगलबार राती उद्धार गरिएको युवा नेता वोसिम आलमले बताए। उनका अनुसार अहिले भारतीय मजुरलाई विराटनगर ११ मा रहेको हाम्रो नेपाल होस्टेलमा राखिएको छ।

लकडाउन अवधिभरि उनीहरुको बस्ने र निःशुल्क खानाको व्यवस्था आफ्नो टिमले गर्ने आलमको बताए।

हामी हाम्रो देश फर्कन चाहन्छौँ

भारतको आररीया जिल्ला लेलीखर पञ्चायतका मुहम्मद वासिर आलम तीन महिना अघि आफ्ना सात जना साथीहरूसँग कामको सिलसिलामा काठमाडौं पुगे। उनीहरू त्यहाँ पेन्टिङ्गको काम गर्छन्। तर कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि उनीहरूको रोजगारी गुम्यो।

लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा दैनिकी चलाउन असहज भयो। यता काम गर्ने ठाउँबाट डेढ महिनाको पैसा नपाएपछि आफूहरू थप समस्यामा परेको आलम बताउँछन्। त्यहाँ रोगले भन्दा पनि भोकले मर्ने चिन्ता बढेपछि आफूहरू हिँडेर घरको यात्रा तय गरेको सुनाए। आफ्नो देश फर्किनुको विकल्प आफूहरूसँग नभएको उनी बताउँछन्। ‘हामी हाम्रो देश फर्कन चाहन्छौँ,’ आलमले भने।

काठमाडौंबाट घर फर्किन सिराहा पुगेका उनीहरूलाई त्यहाँको स्थानीय तहले थापापाएपछि २२ दिन क्वारेनटाइनमा राखेको थियो। स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरूलाई क्वारेनटाइनबाट छोडिएको थियो। त्यसपछि पुनः घर फर्किन उनीहरू एम्बुलेन्स चढेर मोरङस्थित धनपालथानसम्म आइपुगे।

तर मोरङको प्रशासनले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको बेला घर पठाउन नसकिने भन्दै उनीहरूलाई विराटनगरस्थित हाम्रो नेपाल होस्टेलमा राखेको हो। नेपाल र भारत अहिले लकडाउनमा छन्। यस्तो अवस्थामा लामो यात्रामा पठाउन नसकिने भएपछि वोसिम आलमको नेतृत्वमा उनीहरूको उद्धार गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =