कार्यविधि बनाएर विदेशमा अलपत्र नागरिकको उद्धार गरिने

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड १९) का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने भएको छ । मङ्गलवार बिहान बसेको उच्चस्तरीय समितिको बैठकले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरूलाई कार्यविधि बनाएर स्वदेश फर्काउने निर्णय गरेको हो ।

कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरूको व्यवस्थापनका विधिका बारेमा छलफल भएको छ । समितिले विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफल भएपछि कार्यविधि बनाइ उद्धार गर्ने निर्णय गरेको छ।

सरकारले सात वटै प्रदेशमा एक एक जना सङ्घीय सरकारका मन्त्रीहरूलाई विदेशबाट फर्केकाहरूको व्यवस्थापन गर्न फोकल पर्सन पनि तोकेको छ । प्रदेश १ का लागि भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, प्रदेश २ मा श्रम मन्त्री रामेश्वर राय, वागमति प्रदेशमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई तोकिएको छ । उनीहरूले विदेशबाट फर्केकाहरूको व्यवस्थापन गर्नेछन् ।

स्वदेश फिर्ताको कार्यविधि बनाएर मन्त्रिपरिषद् बैठकमा पेस गरिने र मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि प्राथमिकताका आधारमा अलपत्र नेपालीहरूलाई स्वदेश फर्काइने महिला बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताएका छन् । विदेशबाट के कसरी स्वदेश ल्याउने ?, ल्याइसकेपछि कसरी व्यवस्थापन गर्ने ? र त्यसपछि कसरी घर पठाउने लगायतका विषयमा कार्यविधि बन्ने उनले बताए ।

हाल भारतबाट आएकाहरूमा कोरोना सङ्क्रमणको जोखिम तीव्र भइरहेका बेला विदेशमा रहेका लाखौँको सङ्ख्याका नागरिकलाई कसरी भित्र्याउने भन्ने कार्यविधि बनाइने छ । संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले सबैलाई ल्याउन सम्भव नभएको बताएका छन् । सरकारले प्राथमिकता आधारमा लकडाउनका कारण रोजगारी गुमाएर अलपत्र परेका, अशक्त अवस्थामा पुगेका तथा अन्य समस्यामा परेकालाई पहिलो चरणमा उद्धार गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *