वीपी प्रतिष्ठान नै कोरोनाको जोखिममा: धनकुटाकी संक्रमित नर्सले रिफर गरेकी सुत्केरी महिला वीपीमा

धरान । कोरोना संक्रमण पुष्टि भएकी जिल्ला अस्पताल धनकुटाकी नर्सले एक सुत्केरी महिलाको स्वास्थ्य जाँच गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको र ती महिला भर्ना भएको पाइएपछि प्रतिष्ठान नै शिल गरिएको छ ।

जिल्ला अस्पतालकी कोरोना संक्रमित नर्सले रेफर गरेकी सुत्केरी महिला प्रतिष्ठानमै भर्ना भएको खुलेपछि प्रतिष्ठान शिल गरीएको हो । हाम्रा धरान संवाददाता भरतराज शर्मा (गोपाल)का अनुसार अहिले प्रतिष्ठानमा कुनै नयाँ विरामी नलिने तथा डिस्चार्ज समेत नगर्ने गरी प्रतिष्ठानको प्रसुति वार्ड शिल गरीएको छ ।

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा. मोहनचन्द्र रेग्मीले धनकुटा जिल्ला अस्पतालबाट ज्वरोका २ जना महिला प्रतिष्ठान आएकोमा एक जनालाई कोरोना संक्रमण भएकी नर्सले नै रिफर गरेको पाइएको बताए ।

ज्वरो आएकी ती महिला शुक्रबार प्रतिष्ठानको गाइनो वार्डमा भर्ना भएकी थिइन् । दुई साताअघि धनकुटामै अप्रेसन मार्फत बच्चा जन्माएकी सुत्केरी महिला कोरोना संक्रमित नर्सको सम्पर्कमा रहेकोले अहिले प्रतिष्ठानमा त्रासको वातावरण रहेको बुझिएको छ ।

उनी धनकुटा अस्पतालबाट डिस्चार्ज भएर घर गएको भएपनि अप्रेसन गरेको घाउमा संक्रमण भएपछि पुनः जिल्ला अस्पताल आएकी थिइन् । हाल ती महिलालाई डा.रेग्मीको निगरानीमा आइसोलेशनमा राखिएको छ । साथै, ती महिलाको पिसिआर रिपोर्ट नआएसम्म नयाँ विरामी भर्ना समेत गर्न रोक लगाइएको छ । प्रतिष्ठानको वार्डमा भएका विरामीहरुलाई समेत डिस्चार्ज नदिइने प्रतिष्ठानले जनाएको छ ।

स्मरण रहाेस्, वीपी प्रतिष्ठान प्रदेश १ कै काेभिड-१९ लेवल ३ अस्पताल हाे । वीपी प्रतिष्ठाननै काेराेना जाेखिममा परेपछि धरानबासी त्रासमा छन् ।

धरान उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण)ले आफुहरुको वडामै प्रतिष्ठान रहेकाेले  कोरोना संक्रमितको उपचारका विषयमा प्रतिष्ठानले गरेका काम प्रति वडाबासीलाई चासाे भएको बताए । उनले प्रतिष्ठानले भाेलीबाट ओपीडी सेवा सूचारु गर्ने भनेको प्रति असहमति जनाउँदै कोरोनाको महामारी चलिरहेको बेला आम जनता र स्वास्थ्यकर्मीको ज्यान जोखिममा पारेर ओपिडी सेवा सूचारु गर्नु चुनौति हुने बताए ।

‘प्रतिष्ठानको आम्दानीका लागि कोरोना उपचारमा फ्रन्ट लाइनमा काम गर्ने चिकित्सक, कर्मचारी र आम जनताको स्वास्थ्य प्रति जोखिम मोल्न मिल्दैन ।’ उनले भने । साथै राईले अहिलेको प्रतिकूल अवस्थामा कसरी हुन्छ कोरोना संक्रमणको जोखिम न्यूनिकरणमा ध्यान दिनुपर्ने बताए ।

उता पहिलो पटक कोरोना संक्रमण भेटिएको धनकुटा जिल्लामा संक्रमण फैलन नदिन अस्पताल सहित संक्रमित क्षेत्रलाई सिल गरिएको छ । एक जना संक्रमित भएको रिपोर्ट आएपछि आइतबार राती जिल्ला संकट व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर अस्पताल क्षेत्र आसपासलाई चार किल्ला कायम गरेर सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

संभावित प्रभावित क्षेत्रका जनताहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै संक्रमित क्षेत्रलाई सिल गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए ।

सिल गरिएको क्षेत्रमा आवातजावत ठप्प पारिएको छ । अटेर गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रशासनले जनाएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको छ ।

६ः४८ मा अद्यावधिक गरिएकाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *