सीमामा रोकिएका नेपाली भन्छन्ः ‘खाना पनि पाएनौं’

झापा। भारतले दशगजामा ल्याएर नेपालीहरूलाई खानाको व्यवस्था नगरी राखेको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ। नगर प्रमुख विमल आचार्यले उनीहरूको तत्काल उद्धार गरेर स्वदेश भित्र्याउनुपर्ने अवस्था रहेको बताए।
भारतले नेपालसँगको सहमति एकतर्फी रूपमा तोडेको आचार्यले बताए। संकटका बेला पनि भारतको हेपाहा प्रवृत्ति देखिएको उनले आरोप लगाए। सीमामा रोकिएका नेपालीलाई नेपाल भित्र्याएर क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको उनले बताए।
काँकडभिट्टा नाका आसपासको दशगजा क्षेत्रमा करिब एक हजार दुई सय नेपाली अलपत्र रहेको उनले जानकारी दिए। उनीहरूलाई राख्न झापाका १५ वटै पालिकासँग छलफल भइरहेको उनले बताए।
सीमाका नेपाली भन्छन्ः ‘खाना पाएनौं’
यसैबीच, बाँकेको जमुनाहमा रोकिएका नेपालीले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन्। मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्किने क्रममा अलपत्र परेका थिए। १५ दिनअघि सीमामा आए पनि भारततिरै फकाईएको सिमकोट गाउँपालिका-२ हुम्लाका वीरेन्द्र बोहराले जानकारी दिए।
सीमामा आएको ४५ दिन भए पनि अझै नेपाल भित्रिन नपाएको जुम्लाको हिमा गाउँपालिकाका गोगनबहादुर शाहीले बताए। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जमुनाह नाकामा करिब सात सय नेपाली आइपुगेको जानकारी दिए। उनीहरूको व्यवस्थापनमा जुटेको उनले बताए।
‘नाकामा आएका सबैको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) भइरहेको छ,’ उने भने, ‘परीक्षणपछि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वयमा जिल्लासम्म पुग्ने व्यवस्था मिलाउँदैछौं।’ -रासस








