लिपुलेकबारे जर्मनीमा रहेका नेपालीले बुझाए भारतीय कन्सुलेटमा विरोध पत्र

जर्मनी। जर्मनीमा रहेका नेपालीहरूले लिपुलेकमा भारतले सडक बनाएकोप्रति विरोध जनाएका छन्। शुक्रवार फ्रयांकर्फटमा रहेको भारतीय कन्सुलेटमा विरोध पत्र बुझाउँदै जर्मनीमा रहेका सबै नेपालीको तर्फबाट भारतको उक्त कार्यको विरोध गरिएको हो।
महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा रहेको र त्यसभन्दा पश्चिमको भाग नेपालको भएको प्रमाण हुँदाहुँदै भारतले नेपाली भूमि अतिक्रमण गरेकोप्रति उनीहरूले विरोध जनाएका छन्। त्यसको बलियो प्रमाण इस्ट इन्डिया कम्पनीसँग भएको सम्झौता भएको उनीहरूको भनाइ छ।
भारतको यस किसिमको कार्यले उसको विस्तारवादी र साम्राज्यवादी नीतिलाई उजागर गरेको पत्रमा उल्लेख गरिएको छ। भारतले नेपालको चार सय वर्ग किलोमिटर भूमि मिचेको उक्त पत्रमा उल्लेख गरिएको छ। पत्रमा भारतले नेपालको सार्वभौमसत्तामाथि गरेको प्रहारको भर्त्सना गरिएको छ।
साथै भारतले विभिन्न ७१ स्थानमा ६ सय ७ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेकोमा पनि ध्यानाकर्षण गरिएको छ। यस किसिमका गतिविधि सच्याउन भारतसँग माग पनि गरिएको छ। साथै नेपाल-भारतको बिचमा समान सन्धि तथा सम्झौताको माग गरिएको छ।








