यस वर्षको बजेट कोभिड–१९ नियन्त्रणमा केन्द्रीत, प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण गरीने

काठमाडौं । नेपाललाई कोभिड–१९ को महामारीबाट मुक्त बनाउन बर्तमान सरकारको प्रमुख लक्ष्य रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।
आज संसदको वर्षे अधिवेशनमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस पटकको बजेट कोरोना रोकथाम र नियन्त्रण गर्न तथा स्वास्थ्य संस्थाहरुको स्थापना, स्तरोन्नती, सेवा विस्तार गर्न स्वास्थ्य क्षेत्रको पुर्ननिर्माणमा खर्च गरीने बताइन् ।
कोरोना भाइरसको महामारी लम्बिए त्यसको नियन्त्रण, रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्ने बताइएको छ । भने, सरकारले स्वास्थ्य क्षेत्र र विकास निर्माणका कार्यक्रमको पुर्न प्राथमिकीकरण गर्ने भएको छ । कोरोना महामारीबाट पिडित जनतालाई समूचित राहत, पुर्नस्थापनामा जोड दिने भनिएको छ ।
कोरोना रोकथाममा संलग्न, चिकित्सक, कर्मचारी, सुरक्षाकर्मी लगायतको सुरक्षाका लागि विशेष ध्यान दिने सरकारको निती तथा कार्यक्रममा उल्लेख छ ।
यसका साथै प्रदेश, जिल्ला तथा केन्द्र अन्र्तगत साविकका अस्पतालहरुको स्तरोन्नती गर्ने निती बनाइएको छ ।
सरकारले पोखरा, कर्णाली, नारायणी, लगायत केन्द्र तहमा रहेका स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नती गर्ने छ ।
सरुवा रोग रोकथाम नियन्त्रण र स्वास्थ्य विपत ब्यवस्थापन गर्न प्रयोगशाला शहितको ३ सय शैयाको प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रम छ ।
गरिब तथा विपन्न वर्गलाई केन्द्रीय स्तरका अस्पतालहरुबाट आकस्मिक स्तरका रोगहरुको निःशुल्क उपचारको ब्यवस्था गरीने भएको छ । गम्भिर प्रकृतिका रोगहरु, क्यान्सर, मुटु रोग, मृगौला रोग, महिलाहरुको पाठेघरको उपचारका लागि निःशुल्क ब्यवस्था गरीनेछ ।
एम्बुलेन्सहरुलाई एकीकृत गरीने
सरकारले यो वर्ष मुलुकभर सञ्चालनमा रहेका एम्बुलेन्स सेवाहरुलाई एकीकृत रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकारले यसका लागि ३ अंकको निःशुल्क टेलिफोन नम्बर मार्फत देशभरका एम्बुलेन्सको सेवालाई एकीकृत गर्ने भएको छ ।
राजमार्गहरुमा हुने दुर्घटना न्यूनिकरण गर्न तथा दुर्घटनाबाट मानवीय क्षती कम गर्न देशका प्रमुख राजमार्गहरुमा ट्रमा अस्पताल स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।
यसैगरी आगामी ३ वर्ष भित्र देशका सबै नागरिकलाई स्वास्थ्य विमा प्रदान गर्ने लक्ष्य लिइएको छ ।








