बल्लबल्ल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छिरे प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल

दाङ । चुनाब जितेर मुख्यमन्त्री भएपछि पहिलोचोटि शंकर पोखरेलले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेश गरेका छन् । प्रतिष्ठानले शुरु गरेको १० बेडको आइसियू सेवा उद्घाटन गर्दै पहिलो पटक प्रतिष्ठान छिरेका मुख्यमन्त्रीले प्रतिष्ठानको प्रशंशा पनि गरे ।

यसअघि प्रतिष्ठानले उचित स्वास्थ्य सेवा दिन नसकेको भन्दै कोभिड–१९ को परीक्षण र उपचारको सेवा विस्तारमा असहयोग गर्दै आएका मुख्यमन्त्री पोखरेलले आज भने प्रतिष्ठानको प्रशंशामा शब्द खर्चिए ।

उनले १० बेडको आइसियू सेवा उद्घाटन गर्दै प्रतिष्ठानको विकास र विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकास र हितका लागि सबै सहयोग गर्न तयार रहेको भन्दै गुरु योजनासहित आएमा प्रतिष्ठानलाई पर्याप्त बजेट दिने प्रतिबद्धता जनाए ।

उनले प्रतिष्ठानले प्रदान गर्ने चिकित्सा सेवा र शिक्षा विस्तारका लागि आवश्यक जग्गा प्राप्तिमा स्थानीय समुदाय र प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाए । ‘प्रतिष्ठानको विकास र विस्तारमा प्रदेश सरकार सकारात्मक छ । गुरु योजना सहित आएमा प्रदेश सरकारले पर्याप्त बजेट दिने प्रतिबद्धता जनाउँदछु ।’ मुख्यमन्त्रीले भने ।

उनले कोभिड–१९ को उपचारमा प्रतिष्ठानको तयारी र सबैखाले बिरामीको उपचारका लागि प्रतिष्ठानले ढोका खुला गर्नुपर्ने पनि बताए । पोखरेलले प्रतिष्ठानबाट बिरामी रेफर गर्नुपर्ने अवस्था आउन नदिन सबैखाले उपचारको केन्द्र बनाउनु पर्नेमा जोड दिए ।

उनले नवजात शिशु सघन कक्ष, बाल सघन कक्ष (भेन्टिलेटरसहितको एनआइसियु/पिआइसियु) तथा १० बेडको आइसियु सेवा थप गरेर सकारात्मक सन्देश दिएको पनि बताए । ‘अब यहाँदेखि विरामी रेफर होइन कि अरु ठाउँबाट रेफर भइ आउने वातावरण बनाउनु पर्छ ।’ मुख्यमन्त्री पोखरेलले भने ।

कोरोना भाईरस पहिचानका लागि पिसिआर मेशिन भित्र्याउन सफल भएकोमा मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीलाइ विशेष धन्यवाद पनि दिए ।

प्रतिष्ठानकी उपकूलपति प्रा.डा. भण्डारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ५ नम्बर प्रदेशका जनतालाइ गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न स्थापना भएकाेले सरकारकाे उद्देश्य र लक्ष्य प्राप्तिका लागि प्रतिष्ठान सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताइन् । उनले काेराेना महामारीकाे राेकथाम, नियन्त्रण र उपचारमा प्रतिष्ठानले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गरीन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *