सीमामा अलपत्र ५ सय भन्दा बढी नेपलीको उद्धार, रुपन्देही ल्याइयो

बुटवल । दशगजामा अलपत्र ५ सय भन्दा बढी नेपालीको उद्धार गरी रुपन्देही ल्याइएको छ । भारतको विभिन्न सहरबाट आई सीमा क्षेत्रमा अलपत्र परेकामध्ये पाँच सय १० जना नेपालीको उद्धार गरी आज रुपन्देही ल्याइएको हो ।

रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाको पहलमा बुधबार साँझ बेलहिया नाकाबाट बसमार्फत उनीहरुलाई रुपन्दैही ल्याइएको हो ।

उनीहरूमध्ये दुई सय ३३ जना तिलोत्तमा नगरपालिका–१५ को मधवलिया माविको क्वारेन्टाइनमा र दुई सय ७७ जना सिद्धार्थनगर नगरपालिकाको भैरहवास्थित लिलाराम न्यौपाने मावि र भैरहवा माविको क्वारेन्टाइनमा बस्ने भएका छन् ।

उनीहरु भारतको मुम्बई, दिल्ली, हरिद्वार, राजस्थान, कानपुरलगायत ठाउँबाट आएर नौतनवाको क्वारेन्टाइनमा २१ दिनको बसाइँ पूरा गरी नेपाल फर्किएका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नौतनवामा अझै १५ सय जनाभन्दा बढी नेपाली रहेका छन् । तीमध्ये २१ दिन क्वारेन्टाइन बसाइँ पूरा गरेका नौ सय ६९ जनालाई भोलि (बिहीबार) रुपन्देही भित्र्याइने छ । तर क्वारेन्टाइनमा नबसेकाहरुलाई के गर्ने भन्ने यकिन भइ नसकेको उनले बताए ।

आज (बुधबार) साँझ स्वदेश भित्रिएका उनीहरू गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देहीलगायतका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगिसकेको छ । अझै जोखिम बढ्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *