सरकारलाई सांसदले भनेः भारतले नेपाली भूमिमाथि अतिक्रमण गर्‍यो भन्न सक्नुपर्छ

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले नेपाल-भारतबीच बाँकी रहेको सीमा विवादको स्थायी समाधान खोज्नु पर्नेमा जोड दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले पटक पटक देखिने सीमा विवादको स्थायी समाधान खोज्न आवश्यक रहेको बताएका हुन्।

सांसद धर्मशीला चापागाईँले भनिन्, ‘सुदूरपश्चिम प्रदेशको भूभागमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेको छ। यो राष्ट्रिय एकताको विषय पनि हो। त्यसकारण सीमा विवादको स्थायी समाधान खोज्न आवश्यक छ। यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

अर्का सांसद नन्दलाल रोका श्रेत्रीले पनि भारतबाट पटक पटक नेपाललाई दुःख दिने काम भएको बताए। भारतको यो हेपाहा प्रवृत्ति धेरै सहन नसकिने उल्लेख गर्दै उनले स्थायी समाधानमा सरकार लाग्न आवश्यक रहेको बताए। उनले भनेका छन्, ‘भारतले पटक पटक नेपालमाथि दुःख दिने गरेको छ। छिमेकी देशमाथि यस्तो हेपा प्रवृत्ति कतिको जायज हो ? भूगोल र जनसङ्ख्याका हिसाबले देश सानो ठूलो हुन सक्छ। तर सार्वभौमिकता सानो ठूलो हुँदैन। त्यसकारण यसको स्थायी समाधानमा सरकार लागोस्।’

सांसद पूर्णकला सुबेदीले सीमा विवाद समाधान दुई देशबीचको कूटनीतिक प्रयासले मात्र सम्भव नहुने धारणा राखिन्। उनले लिपुलेक विवादको समाधानका लागि चीनको साथ पनि आवश्यक रहेको बताइन्। उनले भनेकी छन्, ‘नेपाली सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप भएको छ। सीमा विवादको समाधान कूटनीतिक प्रयासले मात्र सम्भव नहुने देखिन्छ। चीनसहितको त्रिदेशीय समझदारीमार्फत नेपालले आफ्नो भूमि संरक्षण गर्न सक्नुपर्छ।’

उनले अतिक्रमण सम्पूर्ण भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारसँग आग्रह पनि गरिन्। नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पनि भारतले अतिक्रमण गरेको नेपाली भूमि कूटनीतिक पहलबाट अविलम्ब फिर्ता ल्याउन सरकारसँग आग्रह गरे। उनले भारतबाट पटक पटक हुने यस किसिमका अतिक्रमण रोक्न सीमा विवादसम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लिएर जानु पर्ने आवश्यकता औंल्याए।

नेकपाका सांसद देवेन्द्र पौडेलले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेकोप्रति विरोध जनाए। उनले नेपाली भूमि अतिक्रमण गरेर एकतर्फी रूपमा भारतले सडक निर्माण गर्नु नेपाली सार्वभौमिकताको आकाशमाथि कालो बादलको संज्ञा दिए। उनले कालापानी र लिपुलेक प्रकरणले स्वाभिमानी मुटुमाथि तिर रोपिएको बताए। उनले यस विषयमा सम्पूर्ण नेपालीहरूलाई एकता बद्ध गरी मूर्त र परिणाममुखी पहल चाल्न सरकारसँग आग्रह गरे।

नेमकिपाका सांसद प्रेम सुवालले भारतीय अतिक्रमणविरुद्ध सरकार र राजनीतिक दलहरूले प्रयोग गर्ने भाषाप्रति असन्तुष्टि जनाए। उनले नरम शब्दहरूको प्रयोग गरेर सार्वभौमसत्ता जस्तो विषयमा भारतसँग झुक्न नहुने प्रतिक्रिया दिए। ‘सार्वभौमसत्ता दानको विषय होइन। यो भित्री र बाह्य शक्तिसँग झुक्न नहुने विषय हो। राज्य सञ्चालनको कौशलले यसलाई साबित गर्ने हो,’ उनले भनेका छन्, ‘नेकपाका अध्यक्षद्वयको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ भारतले नेपालको सार्वभौमिकतामा नजरअन्दाज गर्‍यो। नजरअन्दाजको मतलब कम अनुमान गरिनु, हेप्नु, हस्तक्षेप, हेला गर्नु वा जुनसुकै अन्य अर्थ लगाए पनि पुग्दैन। नजरअन्दाजको ठाउँमा अतिक्रमण उपयुक्त हो।’

उनले सीमा अतिक्रमण जस्तो संवेदनशील विषयमा दुःख प्रकट गरेर मात्र नहुने बताए। सांसद सुवालले भने, ‘दुःख ख प्रकट गरेर मात्र पुग्दैन। यो त पूर्ण आत्मसमर्पण वादी र निरीह अभिव्यक्ति हो। यस कारण हामीले रोस प्रकट गर्न आवश्यक छ। सार्वभौमिकतामा आँच होइन नेपाली भूमिमाथि अतिक्रमण भनौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *