कालापानी नजिक ‘गागा’मा सशस्त्र प्रहरीको बिओपी स्थापना हुँदै

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो ।

भारतले गत शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो । एक-दुईदिनमै व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको हो । बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी भएको विष्टको भनाइ छ ।

व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेको छ । सदरमुकामबाट ९० किमिको दूरीमा गागा छ भने गागादेखि कालापानी क्षेत्र १७ किलोमिटर दूरीमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *