लुकीछिपी आउनेमा धमाधम कोरोना पुष्टि, अवस्था झन् जटिल हुने त्रास

काठमाडौं । भारतका विभिन्न सहरबाट लुकीछिपी नेपाल प्रवेश गरेकाहरुमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको छ । पछिल्लो समय संक्रमण पुष्टि भएका प्रायःसबै लकडाउनकै बेला भारतबाट नेपाल प्रवेश गरेकाहरु हुन् ।

कपिलवस्तुमा एकैदिन १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उनीहरु सबैना लकडाउनका बेला भारतको मुम्बई, गुजरात लगायतका शहरबाट लुकीछिपी घर फर्केका थिए । स्थानीय बासिन्दाको आग्रहमा उनीहरू क्वारन्टीनमा बस्दै आएको भए पनि यसरी नै लुकीछिपी आएका अरू धेरै सम्पर्कविहीन छन् ।

भारतबाट नेपाल आउन रोक लगाइएको भएपनि मानिसहरू रातारात आएको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयले बताए । यसरी आएकाहरूको पहिचान गर्न समेत गाह्रो भएको हुँदा यसले जटिल समस्या निम्त्याउन सक्ने उनको भनाई छ । अहिले पनि प्रदेश नं ५ को सीमापारी ६ हजार भन्दा बढी नेपालीहरू नेपाल आउन पाउने आशामा बसिरहेको अनुमान छ ।

पछिल्लोपटक सङ्क्रमित भेटिएकामा भारतबाट आएकाहरू परेकाले अवस्था झन् पछि झन् जटिल हुने त्रास बढेको प्रदेश सभा सांसद विष्णु पन्थीको भनाई छ । ‘हामीले क्वारेन्टाइन भनेर जहाँजहाँ मान्छे राखेका छौं ती ठाउँहरू व्यवस्थित छैनन्,’ उनले भने, ‘एक जना सङ्क्रमित भए भने अरू कोही पनि जोगिने अवस्था छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *