नेपाल–भारत सीमा विवादः महाविर पुनले सुझाए ६ आइडिया !

भारतले तिब्बतको सीमा नजिकै नेपालको जग्गा मिचेर मोटर जाने सडक बनाएको भन्ने समाचार आयो । यसको राजनैतीक लडाईं गर्ने र समाधान निकाल्ने काम नेताहरुले गर्लान् जसको नतिजा निस्कन पनि सक्छ र ननिस्कन पनि सक्छ ।

एउटा कुरा के प्रष्ट भयो भने भारतले लिपुलेकको नेपाली भूमि जबर्जस्ती हडप्नुकाे एउटा प्रमुख कारण त भारतको पर्यटन विकासको लागी कैलाश पर्वतसम्म जाने सडक खोल्न रहेछ भन्ने कुरा छर्लंग नै भयो । त्यसैले मैले यहाँ राखेको प्रस्ताव चाहिं भारतसँग सो क्षेत्रमा लड्न सकिने लडाईं भनेको पर्यटनको विकासद्वारा कसरी आर्थिक लडाईं लड्ने अथवा आर्थिक लाभको लागी कसरी प्रतिस्पर्धा गर्ने भन्ने कुरामा मात्र सिमित छ ।

यो योजना मैले राष्ट्रको हितको लागी राष्ट्रिय आविष्कार केन्द्रको तर्फबाट राखेको छु । किनभने आविष्कार केन्द्रले गर्ने अनुसन्धानहरुको क्षेत्रमा पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा पनि उच्च प्राथमिकतामा पर्दछ । तपाईंहरुलाई पनि यो विषयमा भारतसँग बेस्सरी रिस उठ्छ भने सोच्नुहोस् र नयाँ-नयाँहरु आईडिया निकाल्नु होस् । खास गरी कर्णाली प्रदेशले यो कुरालाई निकै गहन रुपमा सोच्नुपर्ने देखिन्छ र संघीय सरकारले गहिरिएर सोचे पनि खेर जाँदैन । लौ त कर्णाली प्रदेश !

यसरी लिपुलेक क्षेत्रमा भारतसँग लड्नुपर्ने प्रमुख आर्थिक लडाईं भनेको हिन्दु धर्म, बुद्ध धर्म, जैन धर्म र बोन धर्म मान्ने बढी भन्दा बढी तिर्थ यात्रीहरुलाई कसरी राम्रो र स्तरीय सेवा दिएर भारतले भन्दा बढी नेपालको बाटो तान्ने र कसरी पैसा कमाएर हुम्ला जिल्लाका साथै कर्णाली प्रदेश र देशलाई आर्थिक रुपमा दरिलो बनाउने भन्ने हो । तीर्थयात्रीहरु जुन बाटो जाँदा सजिलो हुन्छ र कम खर्चमा छिटो पुगिन्छ त्यो बाटो लाग्छन् । यसका लागी निम्न आइडियाहरु आज बिहान सोचेर नक्साको खाका सहित पेश गरको छु । लकडाउनमा फुर्सद हुनेले र भारतसँग ईख हुनेले पढ्नुहोस् ।

१. कैलाश पर्बत र मानसरोबर जाने प्रमुख आधार स्टेशनको रुपमा हुम्ला जिल्लाको सिमिकोटको विकास गर्ने । तत्कालै सिमिकोटको हाल भएको सानो हवाईजहाज बस्न सक्ने ६५० मिटर लामो एअरपोर्टको विस्तार गरि त्यहाँ ATR अथवा त्यहि किसिमका हवाईजहाजहरु सिधै काठमाडौँबाट र नेपालगञ्जबाट जान सक्ने बनाउने र हवाई भाडामा मिल्ने सम्मको सहुलियत दिने । नेपालगञ्जमा पहिले नै स्तरिय होटेलहरु बनिसकेका छन्। सिमिकोट र हिल्सामा पनि तीर्थयात्रीहरुको सुविधाका लागी स्तरिय होटलहरु र अन्य सेवाहरुको विस्तार गर्दै जाने योजना बनाउने । यसमा राष्ट्रिय आविष्कार केन्द्रले पनि स्थानीयहरुलाई सकेको मद्दत गर्नेछ ।

२. सिमिकोटबाट तिब्बतको सिमानामा रहेको हिल्सा सम्म जाने अहिलेको ८५ किलोमिटर कच्ची सडकलाई दुई वर्षभित्रमा २ लेनको पक्कि बाटो बनाउने र सडकको बीचमा र वरीपरी पर्ने गाउँहरुमा पर्यटन विकासको लागी योजना सहित पूर्वाधारहरु बनाउने। यसको लागी सरकारले यो सडकलाई उच्च प्राथमिकता दिने । सो को लागि अन्य ठाउँहरुमा बनाउने सडकहरुलाई बरु एक दुई वर्षपछि बनाएर यो सडकलाई पहिला बनाउने ।

३. सिमिकोट बाट हिल्साको बाटो २ लेन को बनाउन प्रस्तावित गर्नु पर्ने मुख्य कारण के छ भने भारतले लिपू पाससम्म नै मोटरको बाटो लगेतापनि मोटर बाट ओर्लेर तिब्बतको सिमाना सम्म पुग्न र मोटर चढ्नको लागि कठिन बाटो बाट एक दिन हिँड्नुपर्ने हुन्छ। अहिले भारतबाट जाँदा ५ दिन हिँड्नुपर्छ। तर सिमिकोटबाट हिल्सा हुँदै मानसरोबर पुग्न हिँड्नु पर्दैन । त्यसैले तीर्थ यात्रीहरुको लागि धेरै सजिलो छ ।

४. भारतबाट स्थल मार्ग हुँदै आउने तीर्थयात्रीहरुलाई भैरहवाबाट मुक्तिनाथ हुँदै मुस्ताङ्काे कोरोला नाकाबाट तिब्बत गएर कैलाश मानसरोबर जाने ब्यबस्था मिलाउने। यसको लागी नेपाल सरकारले तिब्बत सरकारसँग सम्झौता गर्ने । तिब्बत तिर पहिले नै कैलाश जाने राम्रो सडक भएको हुनाले नेपाल सरकारले नेपाल पट्टीको सडकको जति सक्दो छिटो विकास गर्ने । यसो गर्दा मुक्तिनाथ दर्शनलाई पनि प्याकेजमा समावेश गर्ने ।

५. हालसम्म तीर्थयात्रीहरुले प्रयोग गर्ने स्थलमार्ग मध्य काठमाडौँदेखि केरुंग हुँदै कैलाश मानसरोबर जाने सडक मार्गको पनि जति सक्दो बढी प्रवद्र्धन गर्ने ।

६. भविष्यमा जुम्ला, गमगढी हुँदै सिमिकोट सम्म जाने पक्की सडक बनेपछि भारतको अथवा तिब्बतको बाटोबाट जानुको सट्टा नेपालगंज, जुम्ला, मुगु हुँदै कैलाश र मानसरोबरको तीर्थ यात्रा गर्न सकिन्छ । सो अवस्थामा जुम्ला र मुगु क्षेत्रमा पनि पर्यटनको विकास हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *