काठमाडौं हिँडेका पाकिस्तानी सिन्धुलीबाट फिर्ता

सिन्धुली । बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो ।

सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पिसिआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नंको माइक्रोबसलाई शनिबार काठमाडौँ जान दिइएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको जानकारी दिए ।

उक्त माइक्रोबसमा ११ पाकिस्तानी नागरिक रहेका उनले बताए । उनका अनुसार उनीहरु स्वदेश फिर्ताका लागि भन्दै काठमाडौँ हिँडेका हुन् ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रोबस सिन्धुलीबाट छाडिए पनि बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रोबसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ ।

सुनसरीबाट काठमाडौँ हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रोबसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *