धनगढीमा किट आइपुग्यो, परीक्षण सुचारु

धनगढी। कोरोना परीक्षणका लागि आवश्यक किट सकिएपछि रोकिएको परीक्षणको काम आजदेखि सुरु भएको छ। संघीय सरकारले तीन सय ८४ वटा आरएनए एक्पेक्सन किट शुक्रवार राति पठाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

किट आएसँगै परीक्षणको कामलाई तीव्रता दिइने स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए। उनकाअनुसार परीक्षणका लागि आवश्यक पीसीआर किट भने मौज्दात छ। पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिनमार्फत हुने कोरोना परीक्षण किट अभावका कारण दुई दिनदेखि रोकिएको थियो।

परीक्षण रोकिएपछि विभिन्न जिल्लाबाट संकलन गरिएका शंकास्पद ५० बढीको थ्रोट स्वाबको परीक्षण गर्न बाँकी थियो। प्रयोगशालामा किट र नमूना पर्याप्त नहुँदा क्षमताअनुसार परीक्षण हुन सकेको छैन। अहिलेसम्म सुदूरपश्चिम प्रदेशका दुई हजार नौ सय २३ जनाको परीक्षण गरिएको छ।

डोटीमा अभाव

डोटीमा कोरोना परीक्षण गर्ने किट अभाव हुँदा परीक्षणको काम रोकिएको छ। किट अभाव हुँदा भारतबाट आएका दुई हजार चार सय ४४ जनाको परीक्षण गर्न बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।

जिल्लामा भारतबाट आएका पाँच हजार मध्ये एक हजार सात सय १९ जनाको परीक्षण गरिएको छ। किट नहुँदा जिल्लामा परीक्षणको काम बिहीबारदेखि रोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *