१३ लाख ८२ हजारले जिते कोरोना, मृतक र संक्रमितको संख्या कति ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १३ लाख ८२ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार १३ लाख ८२ हजार ३ सय ९४ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर २ लाख ७६ हजार १ सय ८१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४० लाख ११ हजार ५ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ । कुल संक्रमितको संख्या १३ लाख २० हजार ६०९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोरोना संक्रमणबाट ३१ हजार २४१ जनाको मृत्यु भएको छ । त्यहाँ २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६२६ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ६४९ जनामा संक्रमण देखिएको छ । १ लाख ७९ हजार ७७९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको महामारीले इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १७ हजार १८५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ९९ हजार २३ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २२९ जनाको मृत्यु भएको छ, योसँगै स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २९९ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ । १ लाख ६८ हजार ४०८ जना उपचारपछि निको भएका छन् ।

रुसमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८७ हजार ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ हजार ७२३ पुगेको छ । संक्रमितमध्ये २६ हजार ६०८ जना निको भएर घर फर्किएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९८५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ३४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ । उपचार गराइरहेका ३९ हजार ८२१ जनामध्ये १७ हजार ८८७ जना निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *