रक्सीले अभिभावकको मृत्युपछि परिवारको बिचल्ली “अब केले गुजारा गर्ने होला?”

महोत्तरी । एसइई (माध्यमिक शिक्षा परीक्षा) पास गरेपछि विज्ञान विषय पढ्न बर्दिवास जाने महोत्तरीको भङ्गाहा नगरपालिका–७ मेघरोल–मझौलियाकी सपना सिंहको रहर आफ्नै नाउँजस्तै बन्यो । आफ्नो शिक्षादीक्षा र परिवारको भरणपोषणको मुख्य आधार पिता लालबाबु सिंहको अल्पायुमै भएको निधनले सपनाको रहर आफ्नै सपनाजस्तै बनेको हो ।

“बाबाआमा, दाजुभाउजू र बिहे भएर घर गएकी दिदीलाई पनि सपना राम्रो पढ्छे, यसलाई नर्स बनाउनुपर्छ भन्नुहुन्थ्यो”, पुगेका सञ्चारकर्मीसँग १५ वर्षीया सपनाले भनिन, “बाबाको अकाल मृत्युसँगै सबै रहर अब सपनाजस्तै बने ।” बाबाको रक्सी खाने नराम्रो अम्मल रहेको बताउने सपनाले अब त्यो अम्मलले पूरै आफ्नो परिवारको गुजारा सङ्कटमा परेको सपनाको बिलौना छ । सपना आफ्नै बस्तीको श्री शङ्कर माध्यमिक विद्यालयबाट यसपालि ९ कक्षा पास गरेर १० पढ्ने तयारीमा रहेकै बेला पिता लालबाबुको मृत्यु भयो ।

रक्सी खाने नराम्रो बानी छाड्न हामीहरुले भन्दै आए पनि त्यो बानीमा सुधार नआएको लालबाबुकी ५० वर्षीया पत्नी रासवती थारुले रुँदै बताइन । “जमिनजेथा केही नभएका हाम्रो परिवारलाई गुजारामा उहाँकै मेहनतको आस थियो” रासवतीले मनको बह पोख्दै भनिन, “अब केले गुजारा गर्ने होला ?” आफ्नै घर नजिकै सानो पसल सञ्चालन गर्दै र मौकाअनुसार ज्यालामजदुरी गर्ने लालबाबुको यही वैशाख–१७ गते बुधबार अत्यधिक रक्सी सेवनकै कारण मृत्यु भएको हो । लालबाबुका घरमा अब पत्नी रासवती, छोरा जितेन्द्र र छोरी सपना छन् । जेठी छोरी कविताको भने विवाह भइसकेको छ ।

भङ्गाहा–७ मेघरोलकै शङ्कर माविमै कक्षा–२ भर्खरै पास गरेका १० वर्षीय गौरवकुमार सिंहका आँसु पनि रोकिएका छैनन् । बाबु सिकेन्द्र सिंहको गत बिहीबार ९वैशाख–१८० मृत्यु भएयता गौरवका आँसु नथामिएका हुन् । सानो झुप्रो घर भत्काएर अली ठूलो घर बनाउन थालेका सिकेन्द्रको पनि अत्यधिक मदिरा सेवनकै कारण मृत्यु भएको चिकित्सक टोलीले जनाइसकेको छ । घरमा रङ पोत्ने सीपका सिकेन्द्र पनि रक्सीका अम्मली रहेका भाउजू सञ्जिता धामीले बताइन । “छोराछोरीलाई त निकै माया गर्थे सिकेन्द्र, नानीहरुलाई पढाएर ठूलो मान्छे बनाउँछु भन्थे” सञ्जिताले भनिन, “तर, रक्सी नखान हामी परिवारजनले गर्ने न्यहोरा ९अनुरोध० भने कहिल्यै सुनेनन् ।”

सिकेन्द्रको मृत्युपछि उनले बनाउन थालेका नयाँ घर निर्माणको काम अल्झिएको छ । सिकेन्द्रको मृत्युयता पत्नी निलम अझै राम्ररी होसमा आउन सकेकी छैनन् । निलमसँगै १२ वर्षीया छोरी सुप्रिना सिंह र छोरा गौरव आमालाई अङ्गालेर लगातार रोइरहेका छन् । सुप्रिनाले आफ्नै वस्तीको विद्यालयबाट यसपालि कक्षा–७ पास उत्तीर्ण गरेकी छन् । “अब हामी कसको घर बस्ने होला, आफ्नो घर अधुरै छाडेर बाबु जानुभयो”, घर पुगेका सञ्चारकर्मीसँग रुँदै सुप्रिनाले भनिन, “अब नयाँ घर बस्ने र पढ्ने रहर कसरी पूरा गर्ने होला ?”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *