लकडाउन लम्ब्याउने तयारी, निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिम नघटेपछि यथास्थितिमै लकडाउन थप्ने सरकारले तयारी गरेको छ । लकडाउनको डेढ महिना अवधि बित्दा संक्रमितको संख्या झनै बढ्न थालेपछि लकडाउन खुकुलो बनाउन नहुने निष्कर्षमा सरकार पुगेको हो ।

चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित रहेकामा अहिले ८२ जना पुगिसकेका छन् । यहि अवस्थामा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ ।

बैठकले लकडाउन खुकुलो पार्दा झन् जोखिम हुन सक्ने निष्कर्ष निकाल्दै अहिलेकै मोडालिटीमा लकडाउन लम्ब्याउने निर्णय गरेको हो । संक्रमितको संख्या बढ्ने दर, परीक्षणको दायरा र सीमाका जिल्लाको जोखिमका कारण अहिले नै लकडाउन खुकुलो पार्न नहुने प्रतिवेदन ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र स्वास्थ्य मन्त्रालयबाट पेस भएको छ ।

बैठकमा प्रधानमन्त्री ओली स्वयंले लकडाउन खुकुलो पार्ने अवस्था नरहेको बताएका थिए । ‘भारतमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ, हाम्रोमा पनि जोखिम घटेको छैन । त्यसैले अहिले लकडाउन खुकुलो पारेर जान सकिँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । बैठकले मुलुक अझै पनि कोरोनाको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने
यही निष्कर्षलाई आधार मानेर आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाउने निर्णय गर्नेछ । कति समय लकडाउन लम्ब्याउने भन्नेबारे आज बस्ने मन्त्रिपरिषदले निर्णय गर्ने समिति सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिइए पनि कति दिन लम्ब्याइने भन्नेबारे अन्तिम निर्णय आज बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जारी छ । पछिल्लो पटक थपिएको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । यसअघि सोमबार बसेको समितिको बैठकमा जनजीवन कसरी सामान्य बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *