कीर्तिमानी रजत विजेता राजभण्डारीको सहयोगमा पीडितलाई राहत

काठमाडौं । एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ । सवितासहित उनका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत प्रदान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पीडित वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत सामाग्री हस्तान्तरण गरे । सो अवसरमा वडा सदस्य समेत रहेका चार पटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका खाद्य सामाग्रीमा चामल, चिउरा, आलु, प्याज, नुन, तेल र साबुन रहेका छन् ।

सविताले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा रजत जितेकी थिइन् । एसियाली खेलकुदमा कुनैपनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एक मात्र रजत पदक पनि हो । टिम स्पर्धामा भने नेपालले प्याराग्लाइडिङमा रजत जितेको छ ।

सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालले पुरुष टिम क्रस कन्ट्रीमा रजत जितेको थियो । सविताका पति किशोरले पनि सन् १९९८ कै बैंकक एसियाडको तेक्वान्दोमा कांस्य जितेका थिए । उनीहरु अमेरिकाको सियाटलमा बस्छन् । २०७२ सालको विनाशकारी भुकम्पबाट पीडितहरुलाई पनि उनीहरुले आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *