नेकपाको अन्तर्विरोधबारे चिनियाँ विश्लेषण : ‘अवसर गुमाउने अस्थिरता’

काठमाडौं । सत्तारूढ दलमा अन्तर्विरोध चर्केको बेला एक चिनियाँ विश्लेषकले ‘चीनले दुई देशको सम्बन्धमा देखिएको आशालाग्दो गति गुमाउन नचाहनु’ भनेर अर्थ्याएका छन् । काठमाडौंमा देखिएको चीनको सक्रियताबारे चर्चा चल्दै गर्दा नेपाल मामिलालाई नियाल्ने बेइजिङका विश्लेषकले सो प्रतिक्रिया दिएका हुन् ।

दक्षिण एशिया विज्ञ चिनियाँ प्राध्यापक हु सीसेङले पछिल्ला दुई वर्षमा दुई देशबीच उच्चस्तरीय भेटवार्ताले विकास र समृद्धिका लागि तयार पारेका आधार र आपसी समझदारीको नयाँ युगमा खलल नपुगोस् भन्ने चिनियाँ चाहना रहेको बताएका छन् । हु चीनको राज्य परिषद्को अधीनमा रहेको चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध संस्था सिआईसीआईआरमा दक्षिण एशिया मामिला हेर्ने निर्देशक हुन् ।

प्रायः खुला रूपमा बाह्य राजनीतिमा संलग्न नहुने छवि बनाएको चीनकी राजदूतले नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अन्तर्विरोध उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई भेटेकी थिइन् ।

सो समयमा दुई देशका राष्ट्रपतिबीच फोनवार्ता समेत भएको थियो । त्यसअघि दुई देशका परराष्ट्र मन्त्रीहरूबीच पनि फोनवार्ता भएका विवरण सार्वजनिक भएको थियो । बीबीसीको समाचार अनुसार परराष्ट्र सम्बन्ध विज्ञहरुले ती घटनाक्रमको समय र सन्दर्भलाई ‘अस्वाभाविक’ ठानेका छन् ।

हु सीसेङ

सन् १९९० देखिनै राजनीतिक अस्थिरताका कारण नेपालले क्षेत्रीय एकता र भूमण्डलीकरणले ल्याएको तीव्र विकासको अवसर गुमाएको र यसबारे चीन जानकार रहेको हु सीसेङको भनाइ छ । ‘राजनीतिक अस्थिरताकै कारण चीन र नेपालबीचको दुईपक्षीय सम्बन्ध पछिल्लो तीन दशकदेखि खासै प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन,’ उनले भने ।

‘नेपालले चीनको विकासबाट उचित लाभ पनि लिन सकेको छैन,’ उनले भने– ‘नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टीहरूको एकीकरण र चुनावी जितले नेपालका लागि मात्रै नभएर नेपाल र चीन बीचको सम्बन्ध र स्थायित्वका लागि पनि ठूलो अर्थ राख्छ ।’

स्पष्ट बहुमतको रहेको नेकपाको सरकारले आन्तरिक विमतिका कारण सर्वसाधारणहरूको सुखी जीवन जिउने अपेक्षा पूरा गर्न नसके नेपाली जनताले कस्तो किसिमको आश गर्न सक्लान ?

उनी भन्छन्, ‘स्पष्ट बहुमतको रहेको नेकपाको सरकारले आन्तरिक विमतिका कारण सर्वसाधारणहरूको सुखी जीवन जिउने अपेक्षा पूरा गर्न नसके नेपाली जनताले कस्तो किसिमको आश गर्न सक्लान ?’ सरकारले आफ्नो आन्तरिक मतभेद साम्य पारेर स्पष्ट रूपमा देखिने सकारात्मक परिवर्तन गर्न नसके नेपालमा भविष्यमा गठन हुने कुनै पनि सरकारले त्यो गर्नसक्ने सम्भावना नदेखेको उनको भनाइ छ ।

त्यस्तै नाटकीय रूपमा विश्व परिवर्तन भइरहेको र विश्वव्यापीकरणलाई नयाँ क्षेत्रीयकरणले विस्थापित गर्ने हुँदा नयाँ अवस्थालाई आत्मसात् गर्न राजनीतिक एकता र स्थायित्व महत्त्वपूर्ण रहेको हु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *