सरकारी वकिल कार्यालयमा सांसद यादव ‘अपहरण’को जाहेरी दर्ता

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सांसद अपहरणको जाहेरी दर्ता गरेको छ। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको जाहेरी सोमबार सरकारी वकिल कार्यालयले दर्ता गरेको हो।

यादवपक्षका कानून व्यावसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारी वलिक कार्यालयमा जाहेरी दर्ता भएको जानकारी गराए। अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी परेको हो।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ। यसअघि किटानी जाहेरी लिएर सांसद यादव तथा जनता समाजवादीका शीर्ष नेताहरू आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए। तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि वैशाख १६ मा सरकारी वकिलको कार्यालय पुगेका थिए।

त्यहाँ पनि जाहेरी लिन नमानेको जनता समाजवादीका नेताहरुले प्रतिक्रिया दिएका थिए। त्यसपछि डा. यादवले नेकपा सांसदहरु बस्नेत, श्रेष्ठ र पूर्व आईजीपी खनालविरुद्ध आफूलाई अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन मागसहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका थिए।

नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले डा. यादवलाई वैशाख १० मा जनकपुरबाट काठमाडौंसम्म ल्याएका थिए। जनता समाजवादीले उक्त प्रकरण अपहरण भएको भन्दै छानबिन गरेर दोषीमाथि कारबाही माग गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *