कोरोना त्रासमा अधिकांश डेन्टल बन्द, दाँतका बिरामी समस्यामा

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण अस्पतालहरुले उपचार गर्न नमान्दा सामान्य बिरामीहरुलाई समस्या हुने गरेको छ ।

कोरोना संक्रमण देखिनुअघि धरानका हरेक अस्पतालदेखि क्लिनिकसम्म बिरामी तान्न तछाडमछाड गर्थे । अहिले महामारीका बेला भने ती नै अस्पताल तथा मेडिकलहरुले सामान्य ज्वरोका बिरामीहरु समेत उपचार गर्न नमान्ने गरेको देखिन्छ ।

जसको पछिल्लो उदाहरणका रुपमा एसियाकै नमुना हस्पिटल मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि हाे । प्रतिष्ठानमा कोभिड अस्पताल निर्माण भएपछि पनि अहिले अतिआवश्यक सेवाबाहेक ओपिडी सेवा बन्द छ भने निजी अस्पतालहरुमा पनि अघोषित रुपमा भएको लकडाउनसँगै अन्य सामान्य बिरामीहरुका लागि स्वास्थ्य सेवाहरु प्रायः बन्द नै रहेको छ ।

दाँतका बिरामी चन्द्र सोनी

धरानमा डेन्टल क्लिनिकहरु पनि पूर्ण रुपमा बन्द छन्, जसकारण डेन्टलका रोगीहरुले उपचार नपाएको गुनासो बढ्न थालेको छ । विशेषगरी डेन्टलका रोगीसँग चिकित्सक प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने र दाँतको चेकजाँच गर्दा रोगीको थुक र र्यालसँंग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले पनि अहिले धरानमा निजी डेन्टल क्लिनिकहरु पूर्ण रुपमा बन्द भएका हुन् ।

धरान ३ पुरानो बजारका चन्द्र सोनी १ महिनादेखि दाँतको दुखाई सहन बाध्य छन् । देब्रेपट्टीको बंगारामा समस्या आएपछि एक महिनाअघि उनले वीपीको डेण्टल अस्पतालमा आरसिटी उपचार गराएका थिए । त्यसपछि उनलाई दाँतमा क्याप लगाउन केही समयपछि पुनः अस्पतालले बोलाएको थियो, सोही बिचमा देशमा लकडाउन भयो ।

लकडाउनपछि वीपीको डेन्टल वार्ड नै बन्द भयो, जसकारण उनले हालसम्म पूर्ण रुपमा आफ्नो दाँतको उपचार गर्न पाएका छैनन् । सोनी सो दाँतको दुखाईका कारण दिनरात सुत्न समेत सकेका छैनन् । दाँतका कारण हैरानी एकातिर छ भने खान समेत नहुने गरी मुख सुन्निएको छ ।

‘दिनप्रतिदिन दाँतको दुखाई सहन नसकेपछि मैले प्रतिष्ठानको हटलाईनमा सम्पर्क गरेँ । तर उपचारको साटो दुखाई कम गर्ने औषधी प्रयोग सल्लाह दिइयो । लकडाउन खुलेपछि प्रतिष्ठान आउन भनिएको छ’, सोनीले भने ।

उता धरान १२ कि संगीता राईको पनि दाँतकै समस्या छ । उनी तातो र चिसो जे खाँदा पनि उनको दाँत नै सिरिङ हुने गर्छ । दाँतको समस्या भएपनि डेन्टल क्लिनिक बन्दका कारण उपचार गराउन नसकेर पिडा सहेरभएपनि घरमा नै बसिरहेको उनले सुनाइन् ।

यी माथिका पात्रहरु उदाहरण मात्र हुन् । उनीहरुजस्ता कयौं सामान्य बिरुामीहरु छन् जसले लकडाउन र त्यसको असरका कारण आफ्ना सामान्य रोगबाट छुटकारा समेत पाउन सकिरहेका छैनन् ।

कोरोना संक्रमण फैलिन अघि भरीभराउ हुने धरानका डेन्टल क्लिनिकहरु अहिले बन्द छन् । विभिन्न बहानामा डेन्टल क्लिनिक बन्दा हुँदा दाँतका रोगीहरु उपचार पाउनबाट बञ्चित भइरहेका छन् ।

यता वीपी प्रतिष्ठानका सह प्रवक्ता तथा एशोसिएट प्रोफेसर डा. अशोक ऐरले पनि बढ्दो रुपमा रहेको कोरोनाको संक्रमणलाई थप फैलन नदिन प्रतिष्ठानले अतिआवश्यक बाहेक अन्य सेवा बन्द गरेको बताए । दाँतका जटिल बिरामी भएमा प्रतिष्ठानको हर्टलाईनमा सम्पर्क गरि सोही अनुरुपको सेवा दिने गरिएको उनको भनाइ छ ।

उनले प्रतिष्ठानमा प्रोटोकल अनुसार त्यहाँको डेन्टल विभागमा सबै डिपार्टमेन्टको डाक्टर र जे आरहरुको डिउटी नै हुने गरेको बताए । दैनिक २०/२२ जनाको दात निकाल्ने काम पनि भइरहेको उनले जानकारी दिए ।

ऐरका अनुसार डेण्टल उपचारका क्रममा मुखबाट बायु उत्पादन हुने र यसले बिरामी र स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम उच्च हुने भएकाले तत्कालीन अवस्थामा बिरामीलाई फोन मार्फत परामर्श दिने (हटलाईन नम्बरहरूः  ९८०५३१६७३०, ९८०२३३११७९) दिइएको छ । साथै बिरामीको अवस्था पीडादायक भएको अवसथमा डेण्टल कलेजमा बोलाई उपाचार गर्ने गरिएको छ ।

त्यस्तै डेण्टल कलेजका सम्पूर्ण (याकल्टि र रेजिडेण्ट चिकित्सकहरूको डिउटि रोटेसन गरी मिलाइएको छ । ईमर्जेन्सी बिभागमा पनि बिरामीको जाँच गर्न अन) कल डिउटी लगाइएको छ। यसका साथसाथै डेण्टलका चिकित्सकहरू वीपी प्रतिष्ठानको कोभिड १९ को हेल्प डेस्कमा डिउटी गरिरहेका छन् ।

त्यस्तै अहिले कोरोना महामारीको संक्रमणका कारण डेन्टलको उपचार जोखिमयुक्त रहेको बराह डेण्टल धरानकी डाक्टर सरस्वती सुवालले बताइन् । गम्भीर बिरामी परेको अवस्थामा मेडिकल बन्द भएपनि आफूले म्यासेन्जर कलबाटै हेरेर बिरामीलाई उपचार सेवा दिने गरेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *