धरान-धनकुटा प्रवेश नाकाहरुमा थर्मल गनद्वारा जाँच गरिँदै

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । लगातारको लकडाउनमा कोरोना भाइरस संक्रमण भित्रिन नदिन धरान उपमहानगरपालिकाले प्रायः सबै नाकामा इन्फ्रारेड थर्मोमिटर (थर्मल गन) मार्फत् चेकजाँचमा कडाइ गरिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले पहाडबाट आउने नाका बाहेक अन्य सबै नाकाहरुमा थर्मल गनबाट ज्वरो जाँच गर्ने व्यवस्था गरिएको जानकारी दिए । मेहताका अनुसार मुख्य नाका धरान–८ तीनकुनेमा थर्मल गन राखिएको छ भने धरान–चतरा सडकको सर्दु पुल, धरान–६ पानवारीसहित जमघट भइरहने स्थानहरुमा पनि थर्मल गन राखिएको छ ।

यसबाहेक धरानका विभिन्न स्वास्थ्य केन्द्रहरुमा पनि थर्मल गनको व्यवस्था गरिएको उपमहानगरपलिका स्वास्थ्य महाशाखाले जनाएको छ । धरान २० विष्णुपादुका, पाचकन्या स्वास्थ्य चौकी, छाताचोक स्थित पुरानो अस्पताल, धरान १७ रेल्वे स्थित सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र लगायतका कार्यालयहरुमा थर्मल गन राखिएको छ ।

यता पर्यटकीय आकर्षणको केन्द्र मानिएका धनकुटाको भेडेटारमा पनि थर्मल गनको प्रयोग गरी स्वास्थ्य चेकजाँच गरिरहेको छ । एक नम्बर प्रदेशमा पर्यटकीय स्थलहरुमध्येका एक महत्वपुर्ण स्थान मानिएको भेडेटारमा यतिखेर पर्यटकको चहलपहल नभएपनि त्यहाको चोकमा हिजो आज सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई बाक्लो रुपमा नै परिचालन गरीएको छ ।

भेडेटार चोकमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उपस्थिति चौबिसै घण्टा छ भने त्यहाँ धरान हुँदै कोशी राजमार्गबाट धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर तर्फ जाने मानिसहरुको जाँचको लागि हेल्थ डेस्क समेत राखिएको छ । त्यहाँबाट सीमा प्रवेश गर्नेहरुको ज्वरो नाप्ने गरिन्छ ।

त्यस्तै त्यहाँ हात धुने व्यवस्थाका साथै सवारी साधनहरुलाई पनि डिसइन्फेक्सन गरिने व्यवस्था गरिएको प्रहरी चौकी भेडेटारका सई यदुकुमार खड्काले जानकारी दिएका छन् । खडकाका अनुसार प्रदेश सरकार, सागुरीगढी गाउँपालिकाको सहयोगमा यो व्यवस्था गरिएको हो । धरानतिर बाट आउने सानो र ठुलो सबै गाडीलाई डिसइन्फेक्सन गरिएको हो ।

विशेषगरी खाद्यान्न, सब्जी र अत्यावश्यक पास लिएका गाडीहरु मात्र जान दिइएको छ भने पास नभए पनि अतिआवश्यक काम भएकालाई नजिकको प्रहरी कार्यालयसँग समन्वय गरेर पठाइदिने गरेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *