चीनमा बिदा परेकाले स्वास्थ्य सामग्री ल्याउन केही दिन लाग्ने

काठमाडाैं ।  चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ।

चीनमा आजदेखि आगामी मङ्गलबारसम्म (मे १–५ तारिख) सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले थप केही दिन लाग्ने देखिएको हो । यसअघि आगामी मङ्गलबार सामान लिनका लागि नेपाल वायु सेवा निगमका वाइड बडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरिएको थियो।

नेपाल ल्याउने सामान तयारी अवस्थामा चीनको ग्वान्जाओमा आइपुगेको छ। “चीनमा लामो सार्वजनिक बिदा परेका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया मिलाउन थप केही दिन लाग्ने खबर आएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले भने। नयाँ तालिकाअनुसार आगामी बिहीबार वा शुक्रबार मात्रै निगमका दुई वटा बाइड बडी जहाज चीन पठाइनेछ ।

स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो। नेपाली सेनाका प्रवक्ता पाण्डेका अनुसार निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउनेछ। तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याइने तयारी गरिएको छ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो। हवाई मार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल– चीन सिमाना तातोपानी ल्याइनेछ। ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ। सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गो लगाएको थियो।

सेनाले १० दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत पैसा चीन पठाएको थियो। ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो। अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन। नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ।

कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो। स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको छ। सेनाले बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल गरिरहेको छ।

अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ। चीनले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ। कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ।

चीनबाट व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ। त्यस्तै भारतबाट ५३ प्रकारका औषधि ल्याउने तयारी गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *