वामदेव कमरेड ! हरूवाले शासन गर्छु भन्नु कत्तिको न्यायोचित हो ?

यो नैतिक प्रश्न हो । दुई तिहाईको बलमा संविधान संसोधन गरेर वा उपनिर्वाचन मार्फत वामदेव गौतम प्रधानमन्त्री भइहाले पनि त्यो जनताको चाहना विपरित नै हो । गौतमले यो अढाई वर्ष एक पल्ट मात्र हैन पटक पटक हारेका छन् । बर्दियामा जनमतद्वारा हारेका गौतमलाई काठमाडौंका जनताले मात्र हैन, डोल्पा र कास्कीका जनताले समेत बहिस्कार गरीसकेका छन् ।
उनी राजनीतिक दाउपेचमा सत्तामा पुग्लान् तर, जनताका नजरमा नालायक र अयोग्य हुन् ।
००००                         ००००                                        ००००
नेकपाको बुधबारको सचिबालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमका लागि हो भने आफुले सरकार छाड्ने अभिब्यक्ति दिएर राजनीतिक रुपमा आफु माथि आइपरेको संकट टार्न खोजेपनि त्यो त्यत्ति सजिलो बाटो भने पक्कै छैन ।

दुई तिहाईबाट संविधान संसोधन गर्नु प्रधानमन्त्रीका लागि फलामको चिउरा चपाए सरह हो, किनभने यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मात्र हैन, समाजवादी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी समेत ओलीका पछिल्लो कृयाकलापले रुष्ट छ । नेकपाभित्रै ओली अल्पमतमा परेको परिदृश्यमा दुई तिहाईबाट संविधान संसोधन गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाई दिन्छु भन्ने ओलीको प्रस्ताव वामदेवका लागि प्रचण्डले भनेजस्तो ‘भकुण्डो’ मात्र हो । फगत केटाकेटीलाई ललिपप देखाए जस्तै हो ।

बर्दियाको अप्रत्यासित पराजयले विछिप्त बनेका गौतमले सार्वजनिक रुपमै आफु प्रतिनिधि सभा वा राष्ट्रिय सभामा आउन चाहेको र मुलुकको लागि आफ्नो भूमिका चाहिएको जिकिर गर्दा पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा ल्याउने प्रयन्त गरेकै हो । काठमाडौं, डोल्पा र कास्कीबाट समेत गौतमलाई संसदमा ल्याउने चर्चा भयो । तर जनताले कतैपनि गौतमलाई प्रवेश गर्न दिएनन् ।

जनताका माझ पुनः जितेर आउन गौतमलाई फलामको चिउरा चपाए सरह भएपछि पार्टीले मनोनितको कोटामार्फत राष्ट्रिय सभा मार्फत मन्त्री सम्म बनाउन खोज्यो । तर, प्रधानमन्त्री नै खोजेका गौतमको चाहनामा नेपालको संविधान बाधक छ । संविधानले राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बन्ने बाटो दिएको छैन । तर, यहाँ गौतमले पार्टी भित्र र सरकारभित्र खेल्दै संविधान संसोधन गरेरै भएपनि प्रधानमन्त्री बन्ने मार्ग खोज्र्दै खोज्दैछन् । र, यसमा ओलीले बुधबार फालेको ‘कार्ड’ ले कस्तो काम गर्ला आजको सचिबालय बैठकमा देख्न सकिन्छ ।

गौतमलाई राष्ट्रिय सभामा लगेर मन्त्रीसम्म बनाउन गाह्रो थिएन तर, उनले प्रधानमन्त्री नै दावि गरेपछि भने सडक, सदनमा मात्र हैन आफ्नै पार्टी नेकपाभित्र नै चर्कोे विरोध भयो । एउटा ब्यक्तिको लागि मुलुकको संविधान संसोधन गर्नु न्यायोचित पक्कै होइन । यदी यसो गरियो भने नेकपाको राजनीतिक इतिहासमा त्यो भन्दा ठूलो कलंक केही हुँदैन ।

यहाँनिर नैतिक प्रश्न उठ्ने भनेकै वामदेव गौतमलाई हो । जनमतद्वारा बहिस्कृत भएपनि सत्तामा जान्छु भनेर कुन धरातलमा उभिएर उनले राजनीति गर्दैछन् ? वामदेव गौतमले विश्वको कुन राजनीतिक इतिहासमा पढेका छन्, कुन संविधानमा पाएका छन् जहाँ हारेका उम्मेद्वारले शासन गरेका छन् ?

राजनीतिक दाउपेच र सड्यन्त्रबाट गौतम प्रधानमन्त्री भइहाले भने त्यसले लोकतन्त्र र जनमतको उपहास हुन्छ । पराजीत उम्मेद्वारलाई शासन गर्न दिइन्छ भने जित्नेहरुलाई चाहिँ के गर्ने ? शुली चढाउने ? प्रश्न उठ्छ ।

यो त जनताको अभिमतलाई पाखा लगाएर जाने विषय भएन र ? हार्नेहरुले शासन गर्न पाउँछन् भने जित्नकै लागि भनेर त्यत्रो खर्च गरेर गरिएको निर्वाचनको के अर्थ ? अब हरुवालाई शासन गर्न दिउँ जित्नेहरु घुँडा टेकौं !

वामदेव गौतमलाई हामी धेरैले बाम बुद्धिजिवी, बाम गठबन्धनका शुत्रधार, नेपाली कम्युनिस्ट राजनीतिका पर्याय, त्यागी नेता ठान्दथ्यौं । तर, विगत अढाई वर्ष यता गौतमको राजनीति देखेर उनी त्यागी र बुद्धिजिवी हैन कि, स्वार्थी र मुर्ख रहेछन् भन्ने प्रष्टिँदै गएको छ । वामदेव गौतमले जनताका लागि राजनीति गरेका रहेनछन् । आफुलाई पक्का राष्ट्रवादी कम्युनिस्ट भनेर गौतमले भाषण छाँट्नु फगत हात्तिको देखाउने दाँत जस्तै रहेछ भन्ने जनताका नजरमा छर्लंग भएको छ ।

गौतमले यतिबेला सत्ता र कुर्सी भन्दापनि जनताको मन जित्ने काम गर्नुपर्दथ्यो । जनताको सेवा गर्न कुर्सी नै चाहिँदैन मन भए पुग्छ । पराजित भएर के भो ? उलाई आफ्नो क्षेत्रमा जान कुनै रोकावट थिएन । कुनै बाधा विरोध थिएन । यो पाँच वर्ष उनले जनताका घरदैलोमा गएर जनताको सुख दुःख साटासाट गरेर विताएको भए आउँदो निर्वाचनमा उनलाई जनताले पक्कै जिताएर पठाउँथे । तर, उनले त्यसो गर्नुको सट्टा संविधान विपरित फोहरी राजनीति खेले जुन अत्यन्त निन्दनीय छ । अशोभनीय छ ।

उनलाई पार्टीको काम गर्न, संगठन विस्तार गर्न, पार्टी निर्माणमा जुट्न सायद त्यो पराजयले रोकेको छैन । उनीसँगै त्यहि निर्वाचनमा पराजित भएकाहरु अहिले धमाधम जनताका घरदैलोमा गएका छन् । कोरोना भाइरसका महामारीबाट त्रासमा रहेका भोकभोकै घरभित्र थुनिएका जनतालाई सहानुभूति र राहत बाँड्न ब्यस्त छन् ।

वामदेव कमरेड,

कांग्रेस नेता डा. शेखर कोइरालालाई हेर्नुहोस तपाईकै पार्टीकी महिला नेतृ भगवती चौधरीलाई हेर्नुहोस, सरकारमा रहेर काम गर्दागर्दै निकालिएका लालबाबु पण्डितलाई हेर्नुहोस, गोकर्ष विष्टलाई हेर्नुहोस उनीहरुलाई जनताको काम गर्न कसले रोकेको छ ? उनीहरुलाई जनताका घरदैलोमा जान कसले बन्देज लगाएको छ ?  निर्वाचनमा पराजित भइयो भन्दैमा जनमतको अवमुल्यन गरी जनताको मत नै नलिइकन शासन गर्छु भन्नु कुन नैतिकताले दिन्छ ?

वामदेव कमरेड,

तपाईको राजनीति अब सकियो, तपाई जनताका नजरमा सदाका लागि कलंकित भइसक्नु भयो । यो त काठमाडौं, डोल्पा, कास्कीका जनताले बोलिसकेका कुरा हुन् । बर्दियाको एउटा क्षेत्रमा हार्नुभएको तपाई अब मुलुककै राजनीतिबाट हार्दै हुनुहुन्छ । हारेकाले जितेकालाई शासन गर्न कत्तिको न्यायोचित हुन्छ ? तपाईका अढाई वर्षका हर्कतले अब ७७ वटै जिल्लामा तपाईलाई स्वागत गर्ने भन्दापनि छिछि र दुर्रदुर्र गर्नेहरुको संख्या बढ्दो छ । जनतामा अब तपाईप्रति सहानुभूति हैन आक्रोश छ । यसले तपाईको राजनीतिमा सदाका लागि ब्रेक लगाउन बेर छैन ।

तपाईलाई थाहा छ, ०७४ सालको निर्वाचनमा तपाई र तपाईको पार्टीले जनतालाई कस्ता सपना बाँड्नु भएको थियो ? दुई तिहाईको स्थायी सरकार, कम्युनिस्ट सरकार, जनताको बहुदलिय जनवादको सरकार जसले हुँदा खानेहरुका लागि राजनीति गर्छ, जसले वेसहारा, कमजोर, अल्पसंख्यक, आदिबासी जनजाति, मुस्लिम, दलित महिलाहरुको मुक्तिको खातिर राजनीति गर्छ भन्दै तपाईले गाउँगाउँ गएर जनमत मागेको यहि दिन देख्नका लागि हो ? कम्युनिस्टले जिते देशमा विकासको लहर आउँछ, कानुनी शासन स्थापित हुन्छ भन्नु हुन्थ्यो तर, आज आफैं कानुनी शासनको धज्जी उडाउँदै हुनुहुन्छ । आफैंले बनाएको संविधानको बर्खिलाफमा हुनुहुन्छ ।

वामदेव कमरेड, तपाईमा नैतिकता छ, इमान्दारिता छ भने, अहिलेको समय तपाई प्रधानमन्त्री मात्र हैन मन्त्री र सांसद समेत बन्न लायक हुनुहुन्न । तपाई जनताद्वारा चुनिएर जवसम्म आउनुहुन्न तपाई अयोग्य नै हुनुहुन्छ । जनमतले अयोग्य भनेर घोषित गरिसकेपछि पनि शासन गर्छु भन्नु कत्तिको न्यायोचित हो ? जनतालाई उत्तर दिनुहोस कमरेड !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *