वीपी प्रतिष्ठानले सुरु गर्यो टेलिमेडिसिन सेवा, अब बिरामीले घरमै बसेर अनलाइन मार्फत उपचार सेवा पाउने

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (इन्टरनेटको माध्यम बाट स्वास्थ्य उपचार) सेवा सुरु भएको छ । प्रतिष्ठानले पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गर्दै टेलिमेडिसिन सुरु गरेको हो ।

एक महिना अघि उपकुलपति भएर आएका प्रा. डा. ज्ञानेन्द्र गिरीको सक्रिय पहलमा कोरोना लकडाउनका कारण प्रतिष्ठानको ओपिडीमा आउन नपाएका बिरामीलाई घरमै स्वास्थ्य सेवादिन टेलिमेडिसिन शुरु गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले बताए ।

कोरोना लकडाउनका कारण सर्वसाधारण स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने अवधारणा अनुरुप टेलिमेडिसिन सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा. गिरीले बताए । ‘प्रतिष्ठानको स्वास्थ्य सेवालाई जनताले घरमै बसेर अनलाइन मार्फत लिन सकुन भनेर टेलिमेडिसिन सेवा सुरु गरिएको हो । यसले लकडाउनका कारण अस्पतालसम्म आउन नसकेका बिरामीलाई सहजता हुनेछ ।’ डा. गिरीले भने ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरी शंकर साहका अनुसार अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेकका लागि यो सेवा निकै प्रभावकारी हुनेछ । ‘कोरोना भाइरसका कारण अस्पतालमा आउने अन्य बिरामी पनि उच्च जोखिममा पर्ने संभावना हुन्छ, त्यहि भएर अस्पताल नआइ हुने बिरामीका लागि यो सेवा सुरु गरेका हौं ।’ डा. शाहले भने ।

इ. लर्निङर टेलिमेडिसिन प्रोग्राम अन्तरगत सञ्चालन भईरहेको यो सेवा बिद्यमान कोभिड–१९ को जोखिमयुक्त समयमा बिरामीले घरमा बसेर चिकित्सकहरू सँग प्रत्यक्ष संवाद गरि स्वास्थ्य सेवा, परामर्श लिन सक्नेछन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वेबसाइट http://telemedicine.bpkihs.edu मा गएर बिरामीले आफ्नो व्यक्तिगत विवरण (Patient Registration) भर्नु पर्ने हुन्छ र यसमा बिरामीले आफुलाई सहज हुने किसिमको सञ्चार सेवा (टेलिफोन, स्काईप, भाइबर, ह्वाट्सएप) छान्न पाउने छन ।

बिरामीले भरेको फारमका आधारमा सम्बन्धीत बिषयका चिकित्सकलाई अपोइन्ट गरिने छ र सेवा उपलब्ध गराइने छ । इ. लर्निङर टेलिमेडिसिन प्रोग्रामलाई प्रा. डा. नरेन्द्र भट्टले कोअर्डिनेटरको रूपमा समन्वय गर्नेछन् । त्यस्तै डा. परमेन्द्र प्रसाद गुप्ता मेडिकल कोअर्डिनेटरको रूपमा रहनेछन् भने प्राविधिक समन्वय इन्जिनियर राकेश कुमार दास र अनिष भट्टराईले गर्ने प्रतिष्ठानले जनाएको छ ।

यो सेवा निःशुल्क र प्रदेश–१ भरिको लागि उपलब्ध हुनेछ । बिरामीले उपलब्ध गराएको बिवरणको आधारमा २४ घण्टा भित्र प्रतिष्ठानको टेलिमेडिसिन सेन्टर बाट चिकित्सकले आफैं बिरामीलाई सम्पर्क गर्नेछन । चिकित्सक र बिरामी बिचमा भिडियो बाट समेत संवाद गर्न सकिने हुँदा फोनमा ब्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिनाले बिरामीको विश्वास बढ्ने हुँदा यो झनै प्रभावकारी हुने बताइएको छ ।

पछिल्लो समय प्रतिष्ठानले आफ्ना सेवाहरुलाई अनलाइन केन्द्रीत बनाउँदै लगेको छ । प्रतिष्ठानले प्रतिष्ठानबाट प्राप्त हुने सबै प्रकारका सेवाहरु अनलाईनबाट गर्न सकिने बनाउँदैछ । प्रतिष्ठानको ओपिडीको टिकट काट्ने, विल तिर्ने, ल्यावहरुको रिपोर्ट समेत अनलाइनबाटै हेर्न सकिने बनाउँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *