बिरामीको बहाना बनाएर एम्बुलेन्समा लागूऔषध तस्कर

चैत्र २८, चितवन । बिरामी बनेर एम्बुलेन्स बुकिङ गरी नवलपरासीबाट लागू औषध बोकेर आउने एउटा गिरोह चितवनमा पक्राउ परेको छ ।
भरतपुर–२ स्थित जलमा हल नजिकै एम्बुलेन्सको चेकजाँच गर्ने क्रममा लागू औषध नाईट्राजेपाम एक सय सतासी ट्यावलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स १ लिटर र ट्रमाडोल ४० ट्याबलेटसहित दुई व्यक्ति पक्राउ परेका हुन् ।

एम्बुलेन्समार्फत् लागूऔषध ओसारपसारमा संलग्न बिनोद रानामगर, प्रविण घर्तीको बयानको आधारमा उक्त लागूऔषधको माग गर्ने अन्जन तिमिल्सिनालाई भरतपुर आँखा अस्पताल अगाडिबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बिनोद रानामगरले नक्कली बिरामी बनेर एम्बुलेन्स बोलाएका थिए । बिनोद रानामगर, प्रविण घर्तीले एम्वुलेन्स चालकलाई फोन गरी यहाँबाट बिरामी लिई बर्दघाट जाने र बर्दघाटबाट समेत बिरामी ल्याउनुपर्नेछ भनि एम्बुलेन्स भरतपुर आँखा अस्पताल अगाडी बोलाएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।
‘विनोद रानामगर बिरामी हो भनि बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना झरी गएकोमा केही समयमा आई यहाँबाट बिरामी लान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कने पक्राउ परेको हो’, रिपोर्टमा उल्लेख छ ।
पक्राउ परेका तीनै जना बिरुद्धमा लागु औषध मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ । प्रचलित कानून अनुसार उनीहरुलाई २ बर्ष देखि १० बर्ष कैद र १ लाख देखि २० लाख रुपैयाँ सम्म जरिवाना सजाय हुने कानूनी प्रावधान छ ।








