‘मेडिकल सामग्री खरिदमा अनियमितता गर्नेलाई पदमुक्त गर्न कांग्रेसको अपिल’

चैत्र २५, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने बताएको छ। मंगलवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय पदाधिकारीहरुको बैठकले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा पूर्ण सहयोग गर्ने निर्णय गरेको हो।   

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परीक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ। त्यस्तै बैठकले पिपिई, भेन्टिलेटर, परीक्षण किट लगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको प्रवक्ता शर्माले बताए। 

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण रुपले घचघच्याउने सरकारले परीक्षणको दायरा व्यापक रुपमा बढाएर जानुपर्ने बैठकले आवश्यकता महसुस गरेको छ। सरकारलाई त्यसका लागि अपिल गरेको छ। सरकारको कमीकमजोरीहरुको सन्दर्भमा औल्याउने तर अहिलेको बेलामा सरकारमा सँगै नरहेर पनि सरकारलाई संकटमा साथ दिन सकिन्छ, सँगै नरहेर पनि संकटमा सँगै लडन सकिन्छ, भन्ने भावनाका साथ नेपाली कांग्रेस पार्टीले सरकारलाई हरसम्भवले सघाउने भन्ने निर्णय पनि आजको बैठकले गरेको छ।’ 

कांग्रेसले भन्यो : कोरोनाविरुद्धको लडाईमा सरकारसँगै छौै

स्वास्थ सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको रकम निकासा गराएर भ्रष्टाचार र अनियमितता भएको कांग्रेस पदाधिकारी बैठकको ठहर छ। बैठकले अनियमिततामा संलग्नहरुलाई पदमुक्त गरी अनिवार्य छानबिन र कार्वाही गर्न सरकारसँग माग गरेको छ। 

कांग्रेस पदाधिकारी बैठकले गरेका निर्णयहरुः 

(१) कोरोनाको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा बैठकले गरेको छ। समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद रूपमा लिंदै बैठकले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ। 

(२) बैठकले आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ। 

(३) स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोनाविरुद्धको संघर्षमा सफलता मिल्ने विश्वाससाथ बैठकले देशभरिका स्वास्थकर्मीहरुप्रति उच्च सम्मान प्रकट गरेको छ। पिपिई, परीक्षण किट र भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपिल गरेको छ। 

बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ। 

(४) लकडाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक अपिल गरेको छ। 

(५) स्वास्थ सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न अपिल गर्दै बैठकले अनिवार्य छानबिन र कार्वाहीको बिषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। 

(६) देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई व्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने व्यवस्था मिलाउन बैठकले सरकार समक्ष माग गरेको छ। 

(७) ज्यालादारी श्रमिकहरु धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको प्रति सरकारकाे ध्यानाकर्षण गराउँदै बेरोजगार र सहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीहरुका लागि पनि तत्काल राहत घोषणा गर्न बैठकले माग गरेको छ।साना ठूला सबै व्यवसायीको  व्यवसायमा लकडाउनले पुर्‍याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज व्यवहारिक ढंगले ल्याउन बैठकले माग गरेको छ। 

(८) अत्यावश्यक खाद्यान्नको आपूर्तिदेखि उत्पादनसम्मको व्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न/गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ। लकडाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न बैठकले सरकार समक्ष माग गरेको छ। 

(९) बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरुलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग पुर्‍याउन स्थानीय सरकारहरुलाई अपिल गरेको छ। 

(१०) विदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै बैठकले विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेको छ। बेलायत र अमेरिकामा कोरोना संक्रमणले मृत्यु भएका नेपालीहरुको परिवारजनप्रति समवेदना व्यक्त गर्दै बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको संकट सामना गर्न अपिल गरेको छ। विश्वभरि नै कोरोनाले गर्दा जीवन गुमाएका हजारौं मानिसप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ। 

(११) प्रतिकूलस्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबै साथीहरूलाई अपिल गरेको छ। 

(१२) कोरोनाको जोखिमसँग जुध्न बैठकले एक विज्ञ समूह निर्माण गरेर निरन्तर समूहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ। 

(१३) पार्टीका सबै केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरु एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रुपले कार्य गर्न बैठकले निर्देशन गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =